राष्ट्रियसभा निर्बाचन : कोशी प्रदेशमा कांग्रेसका सिटौला र माओवादी केन्द्रकी कार्कीले दर्ता गराए उम्मेदवारी
बिराटनगर।माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्।

सिटौलाले सोमबार कोशी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उम्मेदवार दर्ता गराएका हुन्।
त्यसैगरी,नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् ।
कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ।
सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।

