प्रहरीसँगको मुठभेटमा सर्लाहीको बरहथवामा एक ब्यापारीको मृत्यु
सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीसँगको मुठभेटको क्रममा एक युवकको ज्यान गएको छ । शुक्रबार दिउँसो उत्तेजित भिडलाई नियन्त्रण गर्नका लागी प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । त्यहाँका ब्यापारी जयशंकर साहको ज्यान गएपछि प्रहरीले गोली चलाएको आशंका गरिएको छ ।

उत्तेजित भिडले नगरपालिका कार्यालय तोडफोड गरेको छ, भने मेयर कल्पना कटुवाल चढ्ने गाडी र अर्को एक सरकारी नम्बर प्लेटको मोटरसाईकल जलाएको छ । अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त रहेको छ ।
त्यहाँ नेपाल प्रहरी, शसस्त्र प्रहरी बाक्लो संख्यामा खटिएका छन । नगरपालिकाबाट उत्तेजित भिड मेयर कटुवालको घरमा आगो लगाउन भनेर गएको अवस्थामा एकजनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
केहि दिनदेखि त्यहाँ अस्पतालको बिषयलाई लिएर तनाव सिर्जना भईराखेको छ । वडा नम्बर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडको अस्पतालमा स्तरोन्नती गर्नका लागी नगरपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न माग राखेर नेपाली कांग्रेससहितका अन्य दलले माग गर्दै आएका छन् ।

