शुक्रबार यता जाजरकोटमा २ सय ११ भन्दा धेरै पटक भुकम्पको परकम्प
काठमाडौ। भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा लगातार परकम्प गइरहेकाे छ।

शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म २ सय ११ भन्दा धेरै पटक परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार यो अवधिमा ४ रेक्टर स्केलमाथिका परकम्प ६ पटकसम्म गएका छन् । अझै परकम्प आउने सम्भावना रहेकाले सतर्क रहन प्रभावित क्षेत्रका नागरिकलाई केन्द्रले आग्रह गरेको छ।
अस्ति शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पमा गएको थियो।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर, काठमाडौंको टोली जाजरकोट पुगेको छ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो। टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।
‘कति गहिराइबाट भूकम्प गएको छ,कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ,’ खानी तथा भूकम्प विभागका महानिर्देशक अधिकारीले भने।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको जानकारी दिए। पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उनले उल्लेख गरे।

