एमालेले बैतडीको झुलाघाटदेखि पाँचथर च्यो भञ्ज्याङसम्म पदयात्रा गर्ने
काठमाडौं।नेकपा एमालेले पश्चिम-पूर्व पदयात्रा गर्ने निर्णय गरेको छ।

जननेता मदनकुमार भण्डारीलाई महासचिव चयन गरेको सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्बासमा बुधबार बसेको बैठकले आठ बुँदे बिशेष प्रस्ताव पारित गर्दै आगामी मंसिरमा बैतडीको झुलाघाटदेखि पाँचथर च्यो भञ्ज्याङसम्म पदयात्रा गर्ने निर्णय गरेको हो।
त्यस्तै, नेकपा स्थापनाको हिरक महोत्सवका अवसरमा सिरहामा स्तम्भ शिलान्यास गर्ने निर्णय पनि लिइएको छ। बैठकबाट पार्टी नयाँ ढंगले अघि बढाउने संकल्प पनि लिएको छ।
बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारी र तत्कालीन सन्दर्भसमेतलाई सम्मानका साथ स्मरण गरेको प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसको भावनालाई आत्मसात गर्ने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ ।
“चौथो महाधिवेशन सम्पन्न भएको आज ३४ वर्ष व्यतित भएको छ । मुलुकको राजनीतिमा पनि ठूला परिवर्तनहरू भएका छन् । मुलुक त्यतिबेला विद्यमान पञ्चायती तानाशाही र राजतन्त्रलाई समाप्त पार्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । जनताका प्रतिनिधिले बनाएको संविधानबाट सञ्चालित छ । जनताका अधिकारहरू संविधानमा संरक्षित छन् ।
त्यतिबेलाको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी आज देशकै मुख्य राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न बाँकी नै छ । राष्ट्रियतालाई सुदृढ गर्ने हाम्रो अभियान जारी नै छ,”प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

