अनामनगरमा रत्नलक्ष्मीका ‘चिन्ता र चासो’ तथा ‘स्वाभिमानको तस्वीर’ कृतिबारे परिचर्चा
काठमाडौं।साहित्यिक पत्रकार संघको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगरमा भएको एक कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरू “चिन्ता र चासो” लेखसङ्ग्रह तथा “स्वाभिमानको तस्वीर” कवितासङ्ग्रहको परिचर्चा कार्यक्रम गरिएको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनाहरूमा देश र समाजप्रतिका चिन्ता र चासोका अतिरिक्त चिन्तन र विश्लेषण पनि पाइने बताउनुभयो ।
प्रमुख अतिथिको आसनबाट इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी.ले हामीले गीताका अभिव्यक्त विचारहरू आफ्नो आवश्यकताअनुसार मात्र प्रयोग गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै समग्र गीताको गम्भीर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रेष्ठका कृतिहरूमा समाज र देशमा विद्यमान विकृतिविरूद्ध कडा प्रहार पाइने धारणा राख्नुभयो ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रेष्ठको चिन्ता र चासोमा समसामयिक विषयप्रतिको गहिरो चिन्तन र विवेचना पाइने बताउँदै लेखनमा उहाँ इमानदार हुनुभएको उल्लेख गर्नुभयो । अर्का समालोचक डा. गोविन्दमानसिंह कार्कीले श्रेष्ठका कविताहरूमा विषयगत विविधतासँगै समय र समाजका चित्रहरू सरल रूपमा कोरिएको चर्चा गर्नुभयो । सर्जक डा. गीता शिवाकोटी खरेलले श्रेष्ठको सङ्घर्ष, शिक्षाप्रतिको असीम चाहना र समाजसेवाका बारेमा प्रकाश पार्दै उहाँको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा समालोचक डा. शान्तिमाया गिरी र साहित्यकार मन्जिला अनिलले पनि कवि एवम् लेखक श्रेष्ठको कृतिहरूमा पाइने विशेषताहरूको चर्चा गर्नुभएको थियो ।
लेखक रत्नलक्ष्मी श्रेष्ठले आफू कविलेखक नभए पनि देश र समाजमा देखिएका विकृति एवम् विसङ्गतिहरूलाई हटाउनका लागि हृदयबाटै अभिप्रेरित भएर कलम समाएको बताउनुभयो । उहाँले यस वर्ष आफ्ना दुई कृति प्रकाशित गर्ने योजना भएको जानकारी पनि दिनुभयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पुस्तकका सम्पादक डा. मधुसूदन लामिछाने र राजेश श्रेष्ठले पनि लेखकलाई शुभकामना दिनुभएको थियो ।
साहित्यकार श्रीबाबु कार्कीले संचालन गर्नुभएको उक्त कार्यक्रममा संघका सचिव नीता श्रेष्ठले स्वागत भाषण गर्नुभएको थियो । कवि मुरारि सिग्देलले “स्वाभिमानको तस्वीर” कविताकृतिबाट एक कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठलाई माला, सापस स्वर्ण महोत्सव मेडल, र खादा लगाएर सम्मान पनि गरिएको थियो ।कार्यक्रममा साहित्यकारहरु किस्जोर पहाडी, राजेन्द्र के. सी., गीता मैनाली, कमला रिसाल, डा. दामोदर पुडासैनी, हरि थापा, मीठु ठापा., शंकर भारती, डा. बुनु दाहाल, सरस्वती गौतमलगायतको उपस्तिथि रहेको थियो ।

