बजेट आजै पारित गराउने सरकारको तयारी
काठमाडौं।सत्तारुढ गठबन्धनभित्रकै तीवर असन्तुष्टिका बीच सरकारले आज आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्तुत बजेट पारित गराउने तयारी गरेको छ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा सरकारले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने तयारी गरेको हो।जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ दिँदै छन् ।विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बजेट पारितका लागि बुधबार पेश भएपछि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मंगलबार नै बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदरुलाई व्हिप जारी गरेका थिए भने अन्य सत्तारुढ दलहरूले आजै संसदीय दलको बैठक बसेर निर्णय गर्ने बताईएको छ।

