‘एम्बेसडर अफ पाकिस्तान’निबन्ध लेखन तथा बक्तृत्वकलाका बिजयी विद्यार्थी पुरस्कृत
काठमाडौं।काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले निबन्ध लेखन तथा बक्तृत्वकलाका बिजयी प्रतिस्पर्धीहरुलाई अवार्ड बितरण गरेको छ।

दशौं ‘एम्बेसडर अफ पाकिस्तान’ निबन्ध लेखन प्रतियोगिता र छैटौं ‘एम्बेसडर अफ पाकिस्तान’ बक्तृत्वकला प्रतियोगिताका बिजेताहरुलाई मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले अवार्ड साथै पुरस्कार प्रदान गर्नुभएको हो।
यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय‘सार्क–कसरी सदुपयोग गर्न सकिन्छ क्षेत्रीय समृद्धिका लागि’ थियो । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदकसहित स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसपछिका दश उत्कृष्ट विद्यार्थीलाई पनि सान्त्वना नगद पुरस्कार प्रदान गरिएको थियो ।
“हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव – दक्षिण एसियामा साझा चुनौती” विषयक वक्तृत्व प्रतियोगितामा शीर्ष स्थान हासिल गर्नेहरूलाई पनि स्वर्ण, रजत, कांस्य पदकका साथै स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो। त्यसपछिका तेह्र उत्कृष्ट विद्यार्थीहरूले पनि स्मृति चिन्ह र नगद पुरस्कार प्राप्त गरे।
दुवै प्रतियोगितामा ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीसम्मका नेपाली विद्यार्थीहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो । राजदूत हाश्मीले सहभागी विद्यार्थीहरूको आलोचनात्मक सोचको प्रशंसा गर्दै भविष्यका चुनौतीहरूलाई आत्मसात गर्न आह्वान गर्नुभयो। राजदूतले दुई देशबीचको युवा अन्तरक्रियाको महत्वलाई चिरस्थायी पुलको रुपमा उजागर गर्नुभयो।
विगत पाँच र १० वर्षदेखि क्रमशः हरेक वर्ष आयोजना हुने यी दुई प्रतियोगिता नेपाली युवाहरूमाझ निकै लोकप्रिय भएका र देशभरका प्रतिभाशाली विद्यार्थीहरूलाई आकर्षित गर्ने गरेका छन् ।



