प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा



काठमाडौं।पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली नागरिकको सम्मानमा पाकिस्तानी राजदूतावासले एक कार्यक्रमको आयोजना गरेको छ।

काठमाडौंको होटल अलफटमा शनिबार आयोजित सो कार्यक्रममा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (PTAP) अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ आदिमा छात्रवृत्ति प्राप्त गरेर स्नातक पूर्ब विद्यार्थीहरुको उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल–पाकिस्तान मैत्री सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै नेपालको विकास र विशेषगरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो ।

उनले नेपाली विद्यार्थीहरुलाई नेपालका प्रख्यात शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद समेत दिए । उनले पाकिस्तानबाट योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पुर्‍याइरहेको बताए । उपकुलपतिले आगामी दिनमा पनि पाकिस्तानको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बताए । उनले पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीहरूले जीवनभरको मित्रता बनाएको र जीवनभर सकारात्मक सम्झनाहरू बोकेर बसेको बताए ।

उनले भविष्यमा पनि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग गर्ने आश्वासन दिए । उनले मानवताको सेवा गर्ने भावना कायम राखेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्