पेल्माङ बिकासका लागि सहयोगी हातहरुको साझेदारीमा महाकुलुङका १२ घरमा हटाईयो खरको छाना



सोलुखुम्बु।जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं-२ मा खरको छाना हटाऔं अभियान अन्तर्गत दर्जन बढी घरमा जस्तापाताले छाना छाउने काम सम्पन्न भएको छ।

सोही वडामा रहेको पेल्माङ बिकासका लागि सहयोगी हातहरु नामक संस्थाको साझेदारी र सर गोर्लिज- पेल्माङ इ भी जर्मनीको आर्थिक सहयोगमा वडा भित्रका बिपन्न नागरिकहरुको घरमा जस्तापाताको छानो लगाईएको हो।

पेल्माङ बिकासका लागि सहयोगी हातहरुका अध्यक्ष मच्छिन्द्र कुलुङका अनुसार त्यसक्रममा स्थानीय जनक बहादुर राई परिवारका लागि नयाँ घर समेत निर्माण गरिएको छ।संस्थाको पैंतालीस हजार आर्थिक सहयोग र बांकी जनश्रमदानबाट सो घर निर्माण गरिएको हो।

गत फागुनबाट खर तथा चित्राका छाना हटाएर जस्ता लगाउने काम सुरु गरिएको थियो।सो कार्यका लागि १० लाख बढी खर्च भएको अध्यक्ष कुलुङले बताए। उनका अनुसार घरको साईज अनुसार आवश्यक जस्तापाता,प्लेट सिट र किलाकांटी संस्थाका तर्फबाट उपलब्ध गराईएको थियो।यो कार्यक्रमले आगामी बर्षपनि निरन्तरता पाउने अध्यक्ष कुलुङले बताए।

सो संस्थाले यसअघि पनि सामाजिक उत्थान र बिकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्