प्रधानमन्त्रीले दिए रोष्ट्रममा उभिएर २० सांसदले उठाएका प्रश्नको जवाफ (क-कस्ले सोधे प्रश्न ?)
काठमाडौं। प्रधानमन्त्री दाहालले लडाकूको नाममा भ्रष्टाचार भएको भन्ने आरोप गलत रहेको जिकिर गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बिहिवार सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए आफु जेल जान तयार रहेको समेत बताए ।
प्रधानमन्त्री दाहालले भने– ‘यदि त्यस्तो केहि छ भने छानबिन गर्नुपर्छ भने मैले बिभिन्न उच्चतम पदमा भएका सबैको सम्पति छानबिन गर्न तयार छु । क्यानटोनमेन्टको कुरा पूर्वाग्राही छ भन्ने कुरामा दृढविश्वास छ, फेरि कसैले दिएको उजुरीको आधारमा छानविन गरेर दोषी ठहरे म आफै जेल जान तयार छु ।’
प्रतिनिधिसभाको इतिहासमा प्रधानमन्त्री र सांसदहरुबीच संसदमा प्रत्यक्ष प्रश्नोत्तर भएको यो पहिलो पटक हो।बिहिवारको प्रश्नोत्तरमा विभिन्न पार्टीका २० सांसदहरुले प्रधानमन्त्री दाहाललाई सिधा प्रश्न गरेका थिए।
प्रतिनिधिसभाको बैठकमा तय गरिएको‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा बिहिवार कांग्रेसका ईश्वरीदेवी न्यौपाने, दीपक गिरी, दिलेन्द्र प्रसाद बडू र रामहरि खतिवडा, एमालेबाट विद्या भट्टराई, रघुजी पन्त र पदम गिरी तथा माओवादी केन्द्रबाट पूर्णबहादुर घर्तीले समसामयिक बिषयमा प्रश्न गरेका थिए।
यसैगरी , रास्वपाबाट शिशिर खनाल,राप्रपाबाट ज्ञानेन्द्र शाही, जसपाबाट दीपक कार्की र एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर, जनमतबाट अमितादेवी, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट चित्रबहादुर केसी,आम जनता पार्टीबाट प्रभु शाह, स्वतन्त्रबाट अमरेश कुमार सिंह र योगेन्द्र मण्डलले प्रश्न गरेका थिए।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै दाहालले भुटानी शरणार्थी प्रकरणमा जो सुकै भएपनि उन्मुक्ति नदिने,किसानहरुले यस बर्ष समयमै मल पाउने, नेपाली भूमि अर्कालाई एक इन्च पनि नछाड्ने बताएका थिए।

