नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या पन्ध्र पुग्यो
काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका अर्का एक आरोपी आज पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ छन्। प्रहरीले उनलाई आज बिहीवार सिंहदरबारबाट पक्राउ गरेको जनाएको छ ।

नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार शरणार्थीको नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए ।
गृह मन्त्रालयको स्वामित्वमा रहेको बीएबी–१४०५ नम्बरको जीप प्रहरीले बरामद गरेको छ । मियाँसहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ।यसअघि पूर्बौपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्बगृहमन्त्री बालकृष्ण खाँण लगायत १४ जना पक्राउ परेका थिए।

