रहेनन् राजनैतिक तथा साहित्यिक ब्यक्तित्व पुरुषोत्तम बस्नेत,पशुपतिमा गरियो अन्त्येष्टि



काठमाडौं।नेपाली कांग्रेसका नेता तथा विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको अन्त्येष्टी गरिएको छ।

७८ बर्षको उमेरमा आफ्नै निबास सिफलमा बिहान निधन भएका बस्नेतको शुक्रबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।बस्नेतको पार्थिव शरीरमा पूर्बप्रधानमन्त्री एबम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले पार्टीको चार तारे झण्डा ओढाएका थिए।अन्त्येष्टिमा महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्मा सहित कांग्रेसका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

विसं २००२ मंसिर १ गते सोलुखुम्बुको गोली हालको लिखुपिकेमा जन्मिएका बस्नेत संबिधानसभा सदस्य सदस्य समेत बनेका थिए। कोइराला परिबारको सानिध्यमा रहेर राजनीतिमा सक्रिय रहेका बस्नेतले नेपाली कांग्रेसको प्रेस बिभाग प्रमुखको जिम्मेवारी लामो सम्म संगालेका थिए।

विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रिय सदस्य रहेका बस्नेतले लोकतान्त्रिक आन्दोलनका क्रममा झण्डै ९ वर्ष जेल जीवन बिताएको जनाईएको छ।

बस्नेतको राजनीतिका अलावा पत्रकारिता र साहित्यिक क्षेत्रमा पनि उत्तिकै योगदान छ। गोरखापत्र संस्थानको पूर्ब कार्यकारी अध्यक्ष समेत भइ सकेका बस्नेतले थुप्रै राजनीतिक तथा साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए ।

यसैबीच,कांग्रेस सभापती देउवाले एक शोक बक्तब्री प्रकाशित गर्दै बस्नेतको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्