बिकासको गतिमा निरन्तर अघि बढ्दै महाकुलुङ



खगिन्द्रराज बास्तोला,केहि बर्ष अघिसम्म बुङ,छेस्काम र गुंदेल सोलुखुम्बुको अति बिकट, बिपन्न र पिछडिएको क्षेत्र थियो।शिक्षा,स्वास्थ्य,सञ्चार र सडकको पहुँच कम्जोर भएपछि चेतनाको लेबल पनि माथि नजाने रहेछ।त्यहाँ पुगेर फर्कनेहरु स्थानीयका अनेकौं किस्स्सा लिएर फर्कन्थे।सुन्नेलाई ती किस्साहरु अजीव लाग्थे।

पछिल्ला बर्षहरुमा त्यहाँको अवस्था त्यस्तो छैन।साविकका गाबिसहरु छैनन्।तीन वटा गाबिसका समग्र क्षेत्र समेटेर गाउँपालिका बनेको छ।महाकुलुङ नामले परिचित त्यस क्षेत्रमा सडक सञ्जालको पहुँच पुगेको मात्र छैन, शिक्षा, स्वास्थ्य र सञ्चारको बिकास पनि त्यही गतिमा भइरहेको छ। जिल्लाका अन्य गाउँपालिकाकाको तुलनामा त्यहाँका युवाहरूको सरकारी सेवा प्रवेश पनि बढ्दै गइरहेको छ।स्थानीयस्तरमै स्वरोजगार बनेर ब्यक्तित्व बिकास गर्ने महिला पुरुषको संख्या पनि कम छैन ।

साँच्चै भन्ने हो भने मुलुक संघीयतामा गएको प्रत्यक्ष फाईदा महाकुलुङले लिएको छ।स्थानीय सरकारका रूपमा लिइने गाउँपालिकालाई प्राप्त बजेटको सदुपयोग र जनप्रतिनिधिले सक्रियतापूर्बक काम गर्‍यो भने समृद्धिको लय समात्न अप्ठेरो नहुने आफ्नो बुझाई रहेको गाउँपालिका अध्यक्ष सूर्य कुलुङको भनाई छ।यसैका लागि आफू गाउँपालिका अध्यक्षमा निर्बाचित भएपछि सडक,कृषि,पर्यटन,स्वास्थ्य,शिक्षा र सञ्चारलाई प्राथमिकतामा राखेर अघि बढेको कुलुङले बताए।

पर्यटनका हिसाबले मेरापिक क्षेत्र अहिले पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै जान थालेको छ।भर्जिन एरिया भएका कारण बढ्दै गएको पर्यटकको आकर्षणलाई उपयोग गरेर महाकुलुङले समृद्धि प्राप्त गर्न सक्ने उनको भनाइ छ।यसै बर्षमात्रै पनि मेरापिक क्षेत्रको अवलोकनका लागि बिश्वभरबाट झण्डै ५ हजार पर्यटक भित्रिएको अध्यक्ष कुलुङले बताए।पर्यटन बिकासलाई नै केन्द्रित गरेर गाउँपालिकाको समन्वयमा मेरापिकलाई आधार बनाएर सिलु क्षो,बुकुर्दो र भरुञ्जे हिमालको सरसफाइको काम भइरहेको जानकारी पनि उनले दिए।पर्यटन बिकासकै सम्भाब्यता अध्ययन र संघीय तथा प्रदेश सरकारबाट बिनियोजित बजेटबाट भएका कामको अनुगमनका लागि गाउँपालिकाको प्रतिनिधि मण्डलले यही आर्थिक बर्षमा त्यस क्षेत्रको भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ।

उता, कृषि क्षेत्रको बिकासका लागि मान्छेदेखि बन्यजन्तु समेत कसैले पनि भोको रहनु नपरोस् भन्ने अवधारणा सहित गाउँपालिका अघि बढेको अध्यक्ष कुलुङले बताए । यसका लागि सार्बजनिक तथा निजी कुनै पनि जग्गा बाँझो रहन नदिने गाउँपालिकाको योजना छ। माटो सुहाउँदो प्रांगारिक खेतीका लागि दीर्घकालीन योजनासहित गाउँपालिकाले ५ वटै वडामा सिजन अनुसारको नर्सरी स्थापनाका लागि टनेला निर्माणको कामलाई अघि बढाई रहेको छ।त्यसका लागि गाउँपालिकाले २५ बर्षका लागि २५ रोपनी जग्गा लिजमा लिएको अध्यक्ष कुलुङको जानकारी दिए। टनेलामा उत्पादन गरिने नगदेबाली,खाद्यान्न तथा फलफूलका बिरुवाहरु स्थानीयबासीहरुलाई बितरण गरिने र त्यति गर्दा पनि जमिन बांजो रहेमा त्यस्ता ठाउँमा गाउँपालिका आफैंले बिरुवा रोप्ने योजना रहेको बताउंदै अध्यक्ष कुलुङले भने,-‘कृषि उत्पादन बृद्धिका लागी गैरसरकारी संस्था इको हिमालसंगको सहकार्यमा विभिन्न तालिम तथा परामर्श अघि बढाईएको छ।’

कृषिलाई रोजगारी र आयको प्रमुख माध्यम बनाउन नसकेकै कारण युवाहरू बिदेशिन बाध्य हुनु परेको यथार्थलाई दृष्टिगत गरेर यस किसिमको कदम चालिएको बताउंदै उनले माटो अनुसारको उत्पादन वृद्धि र त्यो उत्पादनको बजारीकरणका लागि गाउँपालिकाले कृषकहरुलाई सक्दो सहयोग गर्ने बताए।निजी जग्गाको उत्पादन आयका लागि र सार्बजनिक जग्गाको उत्पादन ब्यक्ति र बन्यजन्तु सबैका होस् भन्ने हाम्रो मान्यता हो।त्यही भएर खाली सार्बजनिक जग्गामा फलफूलकै मात्रै भएपनि बिरुवा रोप्ने हाम्रो लक्ष्य छ,अध्यक्ष कुलुङले भने ।

आफू अध्यक्षमा निर्बाचित भएयता स्थानीय उत्पादनको बजारीकरण र पर्यटन क्षेत्रको बिस्तारका लागि आवश्यक मानिने सडक बिस्तारसंगै स्तरोन्नतिको कामलाई गतिदिनुका साथै महाकुलुङमा सञ्चार क्षेत्रमा उल्लेख्य प्रगति भएको अध्यक्ष कुलुङको दावी छ।महाकुलुङमा एक मिलि सेकेन्डमा ९६ जनाले मोबाइलमा कुरा गर्न मिल्ने गरि नेपाल टेलिकमको सेवा बिस्तार गरिएको छ।मोबाईल र ईन्टरनेटको सम्पर्कमा बार-बार व्यबधान उत्पन्न भएपछि आफुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेर नेपाल टेलिकमको फ्रीक्वेन्सी क्षमता बिस्तार र एनसेल टावर निर्माणको कामलाई अगाडी बढाएको उनले बताए।अध्यक्ष कुलुङका अनुसार सञ्चारसम्बद्ध ती दुबै कम्पनीले क्षमता बिस्तारको काम सम्पन्न गरेपछि ईन्टरनेट र सञ्चार सम्पर्कका लागि स्थानीयलाई निकै सहज हुन पुगेको छ।

सडक सञ्जालतर्फ अघिल्लो स्थानीय सरकारले सुरु गरेको महाकुलुङ रिंगरोड निर्माणको कामले पूर्णता पाएसंगै ४५ किलोमिटर सडक स्तरोन्नति गरी प्रत्येक वडामा आधा घण्टाभित्र पुग्नेगरी सहायक मार्ग निर्माणको कामलाई अहिले प्राथमिकतामा राखिएको छ।यस अन्तर्गत वडा नं-३ को ममेरकुबाट वडा नं -५ को नुर्कुम,वडा नं-२ को पेल्माङबाट वडा नं-१ को खेरौंले लगायत अन्य धेरै ठाउँमा ट्रयाक ओपन कार्य भइरहेको अध्यक्ष कुलुङले बताए।ट्रयाक ओपन कार्य यही जेठभित्र सम्पन्न गरिने उनले बताए।यसैगरी,वडा नं १ र २ जोड्ने भुवाखोला र वडा नं १ र ४ जोड्ने जिस्दोमा मोटरेवल पुल निर्माणका लागि ठेक्का प्रक्रिया पुरा भइसकेको र वडा नं-२ पेल्माङदेखी वडा नं ५ छेस्काम हुँदै गुंदेलसम्मको सडक स्तरोन्नतिको काम पनि सुरु भएको अध्यक्ष कुलुङले जानकारी दिए।

स्वास्थ्य क्षेत्रमा पनि महाकुलुङले पछिल्लो समय निकै फड्को मारेको छ।सामान्य बिमार लाग्दा पनि स्टेचरमा बोकेर सदरमुकाम वा अन्यत्रका अस्पतालमा दौडाउनुपर्ने अवस्था अहिले छैन ।सामान्य उपचारका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीको कार्यकालमा सुरु भएको १५ सय्याको महाकुलुङ प्राथमिक अस्पताल छ भने अन्यत्र लैजानु पर्ने बिरामीहरुका लागि दुईवटा एम्बुलेन्सले चौबीसै घण्टा सेवा दिईरहेको अध्यक्ष कुलुङको भनाई छ।अघिल्लो स्थानीय सरकारकै पालामा सेवा सुरु भए पनि महाकुलुङ प्राथमिक अस्पतालका लागि भवन बिस्तारको काम अहिले पनि भइ रहेको छ।स्थानीय स्वास्थ्य सेवा मार्फत बिरामीहरुलाई कतिपय औषधिहरु निशुल्क बितरण गर्ने काम पनि भइ रहेको छ।गाउँपालिकाको आग्रहमा इको हिमाल नेपाल लगायतका संस्थाहरुले औषधि लगायत अन्य स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने गरेका छन्,-अध्यक्ष कुलुङले भने ।

विद्युतीकरणको सवालमा पनि महाकुलुङमा यतिबेला तीब्र ढंगबाट काम भइ रहेको छ।जेठ महिना भित्रमै केन्द्रीय प्रसारण लाईनबाट बत्ती बालिसक्ने योजना गाउँपालिकाको छ।त्यसका लागि ९ वटा 100kb र ६ वटा 50 kb का सहित पालिकाका पांच वटै वडामा २३ सय पोल पुर्‍याउने काम भइ सकेको अध्यक्ष कुलुङको भनाई छ।

प्रतिक्रिया दिनुहोस्