एमाले सचिब पदबाट टोपबहादुर निलम्बित
काठमाडौं।नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्। एमालेको मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले पनि रायमाझीलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि पूर्वगृहमन्त्रीसमेत रहेका रायमाझी हाल फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । आजै मात्र सो प्रकरणको अनुसन्धानका लागि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिइएको छ ।

