नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले ह्वेल माछा जोगाएर भुरा माछा समात्न खोजिरहेको आरोप
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा ह्वेल माछा जोगाएर भुरा माछा समात्ने काम गर्नुनहुने बताएका छन्।

आइतबार पोखरामा प्रेस चौतारी नेपालको प्रेस मिट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले नक्कली भुटानीलाई अमेरिका पठाउने फाइल खोलिएकामा सरकारलाई धन्यवाद दिंदै सो कुरा बताएका हुन् तर, सरकारले ठुला माछा जोगाएर भुरा माछा समात्ने प्रयत्न गरिरहेकाले निष्पक्ष छानबिन हुनेमा भने आशङ्का बढेको उनको भनाई थियो।
पूर्व गृहमन्त्री बालकृष्ण खाणदेखि पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नि आरजु राणा समेतलाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने हो’, बस्नेतले भने, ‘टोपबहादुर रायमाझीको सवाल जेछ उहाँ कानुनी प्रक्रियाबाट बाहिर जानुहुन्न ।’
नेता बस्नेतले पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले साढे २ करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणले ६ करोड रुपैयाँ लिएको अडियो आफूहरूले सार्वजनिक गरेको बताए ।‘हामीले एउटा अडियो पाएका छौ र हिजो त्यो सार्वजनिक पनि गरेका छौ । त्यसमा आरजु भाउजूलाई साढे २ करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणलाई ६ करोड रुपैयाँ दिएको भनिएको छ’, बस्नेतको भनाइ छ । नेता बस्नेतले बालकृष्ण खाण गृहमन्त्री हुँदा भुटानी शरणार्थी प्रकरणमा लेनदेन भएको अडियोबाट खुलेको समेत दाबी गरेका छन् ।
बस्नेतले रायमाझीले यो प्रकरणमा राज्यलाई सहजीकरण गर्ने काममा भूमिका खेल्ने भन्दै भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भनेर एमालेले भन्दै आएको बताए ।

