थुलुङ दुधकोशी: जग्गा वर्गीकरणमा पहिलो, सेवा प्रवाहमा सहजता
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाभित्र जग्गा वर्गिकरणको कार्य सम्पन्न भई कित्ताकाटको कार्य सुरु भएको बताएका छन् ।

भूउपयोग नियमावली २०७९ अनुसार जमिनलाई दश भागमा विभाजन गर्दै भूउपयोग वर्गीकरण सम्पन्न भएकाले आवश्यकता अनुसार सेवा लिन अध्यक्ष राईले सामाजिक सञ्जालमार्फत सोमबार पालिकाबासीहरुलाई सूचित गरेका हुन्। स्थानीयको राय सुझाव र मागका आधारमा जग्गा वर्गीकरणको काम सम्पन्न गरिएको बताउंदै अध्यक्ष राईले रहस्य खबरसंग भने,- ‘अब गाउँपालिकाको योजना सञ्चालन तथा कित्ताकाट गर्न सहज भएको छ ।’
कृषियोग्य, वन, व्यापारीक, आवासीय, सार्वजनिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र, औद्योगिक क्षेत्रलगायत दश प्रकारमा जग्गाको वर्गीकरण गरी जग्गाको विवरण राईको अध्यक्षतामा बैशाख ६ गते सम्पन्न कार्यपालिका बैठकको निर्णय अनुसार ८ गते गाउँपालिकाले नापी तथा मालपोत कार्यालय सोलुखुम्बुमा पेश गरेको थियो।नेपाल सरकारको नीति अनुसार जमिनको समुचित तथा प्रभावकारी प्रयोग र व्यवस्थापनका लागि भूमिको वर्गीकरण गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै २०७८ जेठ २३ गते सबै स्थानीय तहहरुलाई जग्गाको वर्गीकरण गर्न निर्देशन दिएको थियो । जिल्लाका अन्य स्थानीय तहमा पनि भूमि वर्गीकरणको काम भइरहे पनि छोटो अवधीमा काम सम्पन्न गरि सोलुखुम्बुमा थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुमा स्थानीय भूउपयोग वर्गीकरण सम्पन्न गर्ने पहिलो स्थानीय तह बनेको छ ।
सम्पूर्ण जग्गाको विवरण तयार भएकाले थुलुङ दुधकोशी गाउँपालिकाले आवश्यकता अनुसार जग्गाको किताकाट गर्न सक्ने नापी कार्यालय सोलुखुम्बुका प्रमुख महेश थापाले बताए । अंशबन्डालगायत काम गर्न असहज भइ रहेका बेला प्राथमिकताका साथ काम सम्पन्न गरेको भन्दै स्थानीयबासीले गाउँपालिकाको यस कार्यको प्रशंसा गरेका छन्।
जग्गा वर्गीकरणको काम सम्पन्न गर्न ६ महिना लागेको गाउँपालिकाका अमिन सुबोध बस्नेतको भनाई छ।

