सोलुखुम्बुबाट निर्बाचित तीन सांसद, कस्ले कति गरे चुनावी खर्च ?



सोलुखुम्बु ।मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनबाट निर्बाचित सोलुखुम्बुका तीन सांसदहरुले आफ्नो चुनावी खर्च सार्बजनिक गरेका छन्।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मानवीर राईले काठमाडौं तथा कोशी प्रदेशका सामाजिक बिकासमन्त्री समेत रहेका प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट निर्बाचित बुद्धिकुमार राजभण्डारी र प्रदेश निर्बाचन क्षेत्र ‘क’बाट निर्बाचित गोम्बु शेर्पा ‘कर्ज्याङ’ सोलुखुम्बुस्थित निर्बाचन कार्यालयलाई आ-आफ्नो निर्बाचन खर्च बुझाएका हुन्।

निर्बाचन कार्यालयमा बुझाएको बिवरणमा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्बाचित मानबीर राईले ९ लाख ३७ हजार ८ सय ५० रुपैया,प्रदेशसभा सदस्यद्वय राजभण्डारी र शेर्पाले क्रमशः १८ लाख ७६ हजार ६ सय रुपैयाँ र ६ लाख ७९ हजार ८ सय ३ रुपैयाँ खर्च भएको उल्लेख छ।

सार्बजनिक विवरण अनुसार प्रतिनिधिसभा सदस्य राईले प्रचार प्रसार छपाइको लागि १ लाख ४७ हजार ३ सय रुपैया,मतदाता नामावली छपाइको लागि ५२ हजार , प्रचार प्रसार सामाग्री खरिदमा ७५ हजार, अतिथि सत्कारका लागि एक लाख १५ हजार , खाना-खाजा तथा आवासका लागि एक लाख ८५ हजार ५ सय २० र यातायातको लागि तीन लाख ६३ हजार रुपैया खर्च भएको उल्लेख छ।

यसैगरी,प्रदेशसभा सदस्य राजभण्डारीले रेडियो प्रचार प्रसार वापत ५० हजार , प्रचार प्रसार सामाग्री खरिदका लागि १२ हजार, गाडी भाडा ७ लाख १४ हजार, प्रचार प्रसार खर्च ९ लाख ९० हजार ६ सय भएको उनले पेश गरेको खर्च विवरणमा उल्लेख गरिएको छ।

उता, प्रदेश निर्बाचन क्षेत्र ‘क’ बाट निर्बाचित प्रदेशसभा सदस्य शेर्पाले पेश गरेको खर्च विवरणमा प्रचार प्रसारमा ७ हजार ५ सय ३०, कार्यालय सञ्चालनमा १४ हजार, सवारी साधनमा २ लाख ५० हजार, सोताङ गाउँपालिकाको गोष्ठीमा २५ हजार, नेचासल्यान गाउँपालिकामा सञ्चालन गरेको गोष्ठी तथा अन्तरक्रियामा २ लाख, महाकुलुङको अन्तरक्रियामा ५७ हजार र थुलुङ दुधकोशी गाउँपालिकामा भएको गोष्ठीमा १ लाख ७७ हजार खर्च भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्