नेचासल्यानमा प्रहरीले सुरु गर्यो मादक पदार्थ सेवन न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम
सोलुखुम्बु। ईलाका प्रहरी कार्यालय नेचाले मादक पदार्थ सेवन न्युनीकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय नेचाका प्रमुख प्रहरी निरीक्षक महेन्द्र पराजुलीको सक्रियतामा मंगलबारबाट सो कार्यक्रम सुरु गरिएको हो।गाउँपालिकाको वडा नं-३ बेंसीगाउँबाट सुरु गरिएको कार्यक्रममा मादक पदार्थको सेवनबाट ब्यक्ति,परिवार र समाजलाई पार्ने असरका बिषयमा स्थानीयलाई जानकारी गराईएको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ।
वडा नं ३ का वडाध्यक्ष सीताराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँ कार्यपालिका सदस्य जयन्ता अधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो। मादक पदार्थ सेवनका कारण बढ्दो बिकृती र हुने दुर्घटनाको न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको जानकारी दिदैं प्रहरी निरीक्षक पराजुलीले स्थानीयहरुको समन्वयमा अन्यत्र पनि यस किसिमका कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने जानकारी दिए।

