कित्ताकाट खुला,नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि खारेज
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।‘ त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ उनले भनिन् ।

त्यसैगरी बैठकले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी तत्कालिन गृहमन्त्री रवि लामिछानेले पारित गरेको नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९ खारेज गरेको पनि मन्त्री शर्मालाई बताइन।
‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आवद्धता सम्बन्धि बनेको कार्यविधिमा व्यक्तिगत डेटा र राज्यको सुरक्षाका कुराहरु निजी कम्पनीलाई दिने भन्ने गृहमन्त्रालयले कार्यविधि पास भएको रहेछ । त्यो कार्यविधिलाई खारेज गर्ने निर्णय भएको छ’ उनले भनिन्, ‘कार्यविधि कसरी बनेर पास भयो भन्ने विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ ।’

