प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले आज राष्ट्रपतिसंग सपथ लिंदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई आज पद तथा गोपनीयतको शपथ गराउने भएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन् ।नागरिकताको प्रमाणपत्र अनुसार, विसं १९९८ मंसिर २४ गते जन्मनु भएका राणा ज्येष्ठ सदस्यको रुपमा राष्ट्रपतिबाट शपथ लिन तोकिनुभएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।
सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।
नेपालको संविधानअनुसार संघीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक सुरुभएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

