थुलुङदुधकोशी : नेले-ऐंसेलुखर्क सडक कालोपत्रे गर्ने कार्य सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको नेलेबाट खोटाङको ऐेंसेलुखर्क जोडिने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ।

सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालय यातायात पूर्वाधार विकास ओखलढुंगा प्रदेश नं.१ को बजेट व्यवस्थापनमा नेले- तुम्से-कागेलटार-वाचिम-जबु- खनियाँखर्क-ऐंसेलुखर्क सडक कालोपत्रे गर्ने कार्यको शुक्रबार तुम्सेमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले शिलान्यास गरेका छन्।सडक स्तरोन्नति अन्तर्गत सो सडक खण्डमा नाला, स्टकचर, ग्राभेल र कालो पत्रेसम्मको काम एकै पटक गरिने शिलान्यास कार्यक्रममा जानकारी गराईएको थियो।
२६ करोड ६९ लाख ७० हजार ५६६ रुपैयाँको कूल लागतमा सो सडक खण्डको स्तरोन्नतिको जिम्मा संजिवनी निर्माण सेवा प्रालिले लिएको छ। उक्त योजना २०८२ को जेठ ४ गतेभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसंग सम्झौता गरिएको गाउँपालिकाका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।कम्पनीले सो बजेटले भ्याउनेसम्म सडक कालोपत्रे गर्ने उनले बताए।

