राष्ट्रियसभा सदस्य शेर्पाद्वारा फोर्चे ठाक्री छोलिङ गुम्बा र फोर्चे खानेपानी आयोजना उद्घाटन



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाले खुम्बु बिश्वब्यापी आकर्षणको केन्द्र रहेका कारण यहाँ फरक र सकारात्मक पद्धतिको विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ फोर्चेमा नवनिर्मित फोर्चे ठाक्री छोलिङ गुम्बा र फोर्चे खानेपानी आयोजनाको बिहिवार उद्घाटन गर्दै शेर्पाले सो कुरा बताउनुभएको हो। व्यक्तिगत रुपमा कोही चर्चित हुनु भन्दा पनि समग्र खुम्बुवाट विश्वले सिक्ने वातावरण तयार गर्नु आवश्यक रहेको बताउंदै वहाँले खानेपानी मानव जीवनका लागि अति महत्वपूर्ण भएका कारण यसको दिर्घकालीन प्रयोग र संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो।

फोर्चे खानेपानी आयोजना निर्माणका लागि भने २ करोड २३ लाख ८१ हजार ९०८ रुपैयाँका लागतमा निर्माण सम्पन्न भएको कार्यक्रममा जानकारी गराईएको थियो। गाउँपालिकाको समन्वयमा एक्सन फर नेपाल र फोर्चे खानेपानी समितिको व्यवस्थापनमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनामा रोटरी क्लवले समेत सहयोग गरेको छ ।

३ हजार ८ सय मिटरको उचाईमा रहेको फोर्चे गाउँमा ल्याइएको खानेपानीको मुहान ६ किलोमिटर टाढा रहेको बताइएको छ । संसारको सबैभन्दा उचाईको व्यवस्थित खानेपानी आयोजनामा अत्याधुनिक फिल्टर जडान गरिएको सो आयोजनाबाट एक सय भन्दा बढी घरधुरीमा लाभान्वित हुने बताईएको छ।गाउँपालिकाको समन्वयमा एक्सन फर नेपाल र फोर्चे खानेपानी समितिको व्यवस्थापनमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनामा रोटरी क्लवले समेत सहयोग गरेको जानकारी गराईएको थियो।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभामा सोलुखुम्बुवाट नवनिर्वाचित सांसद मानवीर राईले खुम्बु क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

यस्तै नवनिर्वाचित प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले विकासमा राजनीति गर्न नहुने भन्दै आगामी सात महिनामा सुर्केसम्म सडक यातायात जोडिने दोहोर्‍याउनुभयो । राजभण्डारीले खुम्बु क्षेत्रमा स्वदेशी र बिदेशी पर्यटक भित्र्याउनका लागि खुम्बुको प्रचार र प्रबर्द्धन आवश्यक रहेको र त्यसका आफूले भूमिका खेल्ने भन्दै खुम्बुका लागि प्रदेशवाट गर्नुपर्ने सहयोगमा भूमिका खेल्न सदा तयार रहेको बताउनुभयो ।

गाउँपालिका वडा नं-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाकी राजदुत फेलिसिटी भोल्क,अमेरिकी दूतावासका राजनीतिक तथा आर्थिक प्रमुख मार्क टेम्पोर, नेपालका लागि न्युजिल्याण्डकी कन्सुलर लिजा छोग्याल,फोर्छे ठाक्री छोलिङ गुम्बाको तर्फबाट अध्यक्ष पेम्बारिता शेर्पा र खानेपानी आयोजनाको तर्फबाट अध्यक्ष फुट्सी शेर्पा गाउँपालिका उपाध्यक्ष टासील्हामु शेर्पाले आआफ्नो मन्तब्य राख्नु भएको थियो।

कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले सफल रुपमा आयोजना सम्पन्न गरेकोमा धन्यवाद दिनुहुँदै सगरमाथा आरोहणको ७० बर्ष पुरा गरेको अवसरमा आगामी बर्ष खुम्बुमा भव्य कार्यक्रम गर्ने जानकारी दिनुभयो । वहाले फरक भौगोलिक अवस्थाका कारण विकास निर्माणका कार्यमा समय लाग्ने भन्दै खुम्बु क्षेत्रको विकासको लागि गाउँपालिकाले विभिन्न निकायसंग समन्वय र सहकार्य गरेर कार्य गरिरहेको बताउनुभयो।

फोर्चे ठाक्री छोलिङ गुम्बा ४ करोड ७१ लाख ३१ हजार ७५२ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । गुम्बा निर्माणका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ देखि चालु आर्थिक बर्षसम्म २ करोड ९४ लाख, प्रदेश १ पर्यटन मन्त्रालयले १० लाख, खुम्बिला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले २१ लाख ३६ हजार ९६६ रुपैयाँ लगानी गरेको छ । यस्तै गुम्बा निर्माणका लागि फोर्चे गुम्बा व्यवस्थापन समितिले ३४ लाख ७९ हजार ६ सय, हिमालयन ट्रष्टले ५ लाख, चन्दा संकलन ६५ लाख ५५ हजार ५५९, ल्हाक्पा नुरु शेर्पाको परिवारवाट १८ लाख ४ हजार २९७ र जनश्रमदान २२ लाख बराबरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्