नेकपा एमाले सोलुखुम्बुको चुनाबी समिक्षा बैठक सम्पन्न,जिल्ला कमिटीमा नौ सदस्य मनोनीत



सोलुखुम्बु।नेकपा एमाले जिल्ला कमिटीको सातौं बैठक सम्पन्न भएको छ।

जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षता तथा जिल्ला इन्चार्ज समेत रहेका पार्टी केन्द्रीय सदस्य तथा नवनिर्बाचित प्रतिनिधिसभा सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनको समिक्षा गरिनुका साथै पार्टीले भावीदिनमा सञ्चालन गर्ने कार्यक्रमबारे विभिन्न निर्णय गरिएको जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ ले जानकारी दिए।बैठकले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने सोनाम वाङ्छेन शेर्पा,तेञ्जिङ शेर्पा लगायत ९ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको जानकारी समेत उनले दिए।

सचिब राईका अनुसार बैठकले शेर्पाद्वयसंगै ढल बहादुर मगर,दायाङ्जी शेर्पा,आशमान राई (बिकास),अर्जुन कार्की,कृष्णगोपाल श्रेष्ठ,सोनाम लामा र जनक बस्नेत जिल्ला कमिटी सदस्यमा मनोनयन गरेको हो।मनोनीत मध्य कार्की र श्रेष्ठ एमालेकै सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिका पूर्ब अध्यक्ष रहेको सो पार्टीले जनाएको छ।

बैठकमा सम्बन्धित स्थानीय तहले निर्बाचनमा निर्बाह गरेको भूमिकाका सन्दर्भमा गाउँपालिका कमिटीको तर्फबाट इन्चार्ज,अध्यक्ष तथा प्रतिनिधिहरुले रिपोर्टिङ प्रस्तुत गरेका थिए।सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट इन्चार्ज वीर उदास श्रेष्ठ,नेचासल्यान इन्चार्ज धर्मध्वज खत्री,थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिका अध्यक्ष क्रमशः भूपालसिं राई र जुनितामाया मगर,सोताङ गाउँपालिक,लिखुपिके र महाकुलुङको क्रमशः जिल्ला कमिटी सदस्यत्रय मानबीर राई ,कुञ्जाङ शेर्पा र शक्ति कुलुङले आ-आफ्नो गाउँपालिकाको रिपोर्टिङ प्रस्तुत गरेको बताईको छ।

बैठकमा नवनिर्बाचित प्रतिनिधिसभा सदस्य राई,प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी,प्रदेश कमिटी सचिवालय सदस्यद्वय उत्तमकुमार बस्नेत र महेश किराँती,प्रदेश कमिटी सदस्य सूर्यमाया सुनुवार तथा जिल्ला कमिटी सचिवालय सदस्य तथा माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले निर्बाचनमा यसपटक प्राप्त भएको सफलताका पछाडि नेता कार्यकर्ताहरुले निर्बाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा संगठन बिस्तारमा थप प्रभावकारी ढंगले लाग्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा जिल्ला कमिटीको तर्फबाट अध्यक्ष बास्तोलाले नवनिर्बाचित प्रतिनिधिसभा सदस्य राई र प्रदेशसभा सदस्य राजभण्डारीलाई खादा लगाएर बधाई ज्ञापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्