आयोगले निर्बाचन रद्द गरेका दोलखाका १० बुथमा आज पुनः मतदान हुंदै
काठमाडौं।निर्वाचन आयोगले निर्बाचन रद्द गरेका दोलखाका १० वटा मतदान केन्द्रमा आज (बिहीबार) मतदान हुने भएको छ।

आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका-६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो।
आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो।

