शैक्षिक गुणस्तर वृद्धि गर्न थुलुङदुधकोशी–७ ले चाल्दैछ यस्तो कदम
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिका–७ देउसाभित्र शैक्षिक गतिविधिमा एकरुपमा ल्याउने निर्णय गरिएको छ । वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक भोजराज कार्कीको उपस्थितिमा वडा भित्र सञ्चालित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सहभागीतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

जसको लागि देउसा माध्यमिक विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा वडा भित्रका सबै विद्यालयका प्रधानाध्यापक सदस्य रहने गरि एक समिति समेत गठन गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । यस्तै शैक्षिक गणस्तर वृद्धि गर्न ६ वटा कार्य गर्ने पनि निर्णय गरिएको छ ।
बैठकको निर्णय अनुसार हरेक तीन÷तीन महिना अनिवार्यरुपमा अभिभावक भेला गर्ने र वडा शिक्षा समितिलाई जानकारी दिने, कक्षा नर्सरी देखि तीन सम्मका विद्यार्थीको लागि गृहकार्य र विद्यालयमा प्रयोग गर्ने कापी र पेन्सिल छुट्टाछुट्टै व्यवस्थापन गर्ने र कक्षा तीनको परीक्षा वडा स्तरीय बनाउने निर्णय गरिएको छ । उक्त परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यालय, विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई समेत पुरस्कार व्यवस्था गर्ने निर्णय गरिएको छ । विद्यालयको मुल्याङ्कन गर्दा शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिति, कक्षाकोठा व्यवस्थापन, कक्षा तीनका विद्यार्थीले प्राप्त गर्ने अंक र दिवाखाजा व्यवस्थापनलाई आधार मानिने वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । यी सबै क्षेत्रमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यालयले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । न्यूनतम अंक प्राप्त नगर्ने विद्यालयलाई भने अन्य थप सेवासुविधामा भने रोक लगाइने निर्णय गरिएको छ ।
यस्तै, हरेक विद्यालयका प्रधानाध्यापक र बालकक्षा शिक्षकलाई कम्प्युटर तालिम अनिवार्य गर्ने गराउने र हरेक महिना वडा भित्रका सबै विद्यालयको सहभागितामा पालैपालो अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।

