समानुपातिकमा माधव नेपालको नेकपा एसभन्दा सिके राउतको जनमत पार्टी अगाडि
काठमाडौं। राष्ट्रिय पार्टीका लागि आवश्यक थ्रेस होल्ड कटाउन प्रयासरत जनमत पार्टी नेकपा (एकीकृत समाजबादी) भन्दा अगाडि बढेको छ।

प्रतिनिधिसभा सदस्यमा १० स्थानमा जित हात पारेपनि माधव नेपाल नेतृत्वको एकीकृत समाजबादी समानुपातिकमा १ सिट जितेको सिके राउत नेतृत्वको जनमत पछाडी परेको हो। समानुपातिकतर्फको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुग्नै लाग्दा जनमत पार्टीले २ लाख ३५ हजार ८०१ र नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार ३५९ मत पाएका छन् ।
अब चमत्कारिक ढंगले मत प्राप्त गरेनन् भने यी दुई दल राष्ट्रिय पार्टी बन्नका लागि आवश्यक थ्रेस होल्ड पार गर्न नसक्ने सम्भावना बढेको छ।राष्ट्रिय पार्टी बन्न समानुपातिक तर्फ खसेको कुल सदर मतको ३ प्रतिशत पुर्याउनुपर्ने ब्यबस्था छ।अहिलेसम्म यी दुई पार्टीले २ दशमलव ६ प्रतिशत हाराहारी मात्रै मत पाएका छन।
आइतबार दिउँसाे ३ बजेसम्म ८७ लाख १९ हजार ९९ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २३ लाख ९१ हजार ७७८ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २२ लाख ८३ हजार ६ सय ९० मत पाएको छ। माओवादी केन्द्रले ९ लाख ९९ हजार ८ सय ९० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ५८ हजार ७० सय ३ मत पाएको छ।
यसैगरी समानुपातिकतर्फ राप्रपाले ५ लाख ९ हजार ४४२ मत पाएको छ। जनता समाजवादी पार्टी जसपाले ३ लाख ३३० मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले २ लाख १ हजार ५०८मत पाएको छ। लोसपाले एक लाख २२ हजार ६३६ मत पाएको छ।
यसैगरी नेमकिपाले ७० हजार ३५९ मत पाउँदा हाम्रो नेपाली पार्टीले देशभरबाट ४९ हजार ९०मत पाएको छ। जनमोर्चाको ४३ हजार ३९७ मत रहेको निर्वाचन आयोगको तथ्यांक छ।

