निर्बाचन सुरक्षाका लागि झण्डै ७५ हजार सेना परिचालन



काठमाडौँ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ झन्डै ७५ हजार सेना परिचालन गरिएको छ। सैनिक मुख्यालय जङ्गी अड्डाले जनाए अनुसार पृतना, बाहिनी, गुल्मबाट ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा परिचालन गरिएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ । निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी दिनुभयो । निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् । एक पल्टनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ ।

यसैगरी सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ । सरकारले निर्वाचनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएका विमानस्थल, महìवपूर्ण सम्पदा तथा कारागारलगायत १११ स्थानको सुरक्षामा परिचालन हुने गरी तयारी अवस्थामा रहेको सेनाले जनाएको छ ।

यसअघि निर्वाचन आयोगको मुख्यालय तथा मतदान सामग्री, मतपत्रको सुरक्षा र प्याकेजिङका लागि एक सय जना नेपाली सेना यसअघि नै परिचालन भइसकेका छन् । प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै मतपत्रको छपाइ सकिएको छ । मतपत्रको ढुवानीको जिम्मेवारी नेपाली सेनाले मतदान सुरु हुनुभन्दा १० दिन पहिले पूरा गरेको छ । अन्य जिल्लामा मतपत्रको ढुवानी एक हप्तापहिले नै पूरा भएको थियो । सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हवाई साधनद्वारा मतपत्र ढुवानी गरिसकेको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना निर्वाचनको अवधिमा मतदानस्थलको बाहिरी सुरक्षा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछ

निर्वाचन सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि भए तत्काल परिचालन हुने गरी काठमाडौँ पोखरा, चितवन, बर्दिवास, इटहरी, सुर्खेतलगायतका स्थानमा सेनाले हवाई साधनसहित १५० सैनिक तयारी अवस्थामा राखेको जनाएको छ । सुरक्षा संवेदनशील रहेका मतदान स्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६१० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ । विस्फोटक पदार्थ पत्ता लगाउन र निष्क्रिय पार्न देशभर दुई हजार ५६० तालिम प्राप्त बम डिस्पोजल टोलीलाई पूर्वतयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्