सामुदायिक रेडियो सोलु एफएम १०१.२ मेर्गाहज १९ औं वर्षमा प्रवेश
सोलुखुम्बु । सामुदायिक रेडियो सोलु एफएम १०१.२ मेर्गाहज १९ औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल भदौ ११ गतेदेखि प्रसारणमा आएको सोलु एफएमले सरकारवाट रेडियो सञ्चालनका लागि अनुमति प्राप्त गरेको दिनलाई आधार मानेर स्थापना दिवस कार्यक्रम मनाउने गरेको छ । सञ्चालक संस्था योङ्ग स्टार क्लवले १०० वाटको सोलु एफएम सञ्चानका लागि २०६० साल कार्तिक २५ गते सरकारवाट अनुमति प्राप्त गरेको थियो ।

एक सय वाट बाट शुरु भएको सोलु एफएम ५ सयवाट हुँदै हाल एक हजार वाटको प्रसारण क्षमतासहित प्रसारणमा रहेको छ । सोलु एफएम हाल सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्ताले डाँडामा रिपिटर टावर स्थापना गरी प्रसारणमा रहेको छ । प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियोको रुपमा स्थापित सोलु एफएम सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनको मुल मर्म अनुरुप क्रियाशिल रहेको छ ।
सोलु एफएम स्थापना हुँदा टेलिफोन तथा बिजुलीमा स्थानीयको पहुँच नगन्य मात्रामा थियो । योङ्ग स्टार क्वले स्थानीय आवश्यकतालाई मनन गरी रेडियो सञ्चालन ल्याएको योङ्ग स्टार क्लव तथा सोलु एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ बताउनुहुन्छ । सोलु एफएमको दार्पू बजारस्थित मुख्य स्टुडियोमा २०७७ फागुन १६ गते मध्यराती आगलागी हुँदा ध्वस्त भएको थियो ।
सोलु एफएमको सञ्चालक संस्था योङग स्टार क्लव भने आजदेखि ४६ बर्षमा प्रवेश गरेको छ । क्लवको ४६ औं र सोलु एफएमको १९ औं स्थापना दिवसको अवसरमा अध्यक्ष बुद्धिनारायण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सहयोगी सबैलाई धन्यवाद दिनुभएको छ ।
श्रेष्ठले विभिन्न आरोह, अबरोहका बीचमा पनि आफूहरु निरन्तर सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल रहेको भन्दै आगामी दिनमा अझ बृहत् र परिस्कृत रुपमा कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभएको छ । योङ्ग स्टार क्लव सोलुखुम्बुको पहिलो सामाजिक संस्था समेत हो । संस्थाले स्थापना दिवसको अवसरमा विगतमा विविध कार्यक्रम आयोजना गर्ने गरेको भए पनि यस पटक आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका कारण म्याराथन, फुटबल लगायतको कार्यक्रम आयोजना नगरेको क्लवका सूचना तथा सञ्चार विभागका प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

