जनप्रतिनिधिविरुद्ध सोलुखुम्बुमा आचारसंहिता उल्लंघनको तेस्रो उजुरी
सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पा र उपाध्यक्ष टासील्हामु शेर्पाबिरुद्ध निर्बाचन आचार संहिता उल्लंघनको उजुरी परेको छ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्बाचन आचारसंहिता बिपरित गाउँपालिकाले विद्युत र खानेपानीको सर्भे गराएर मतदातालाई प्रभावित गर्ने काम गरेको आरोप लगाउंदै बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट शेर्पाद्वयविरुद्ध मंगलबार मुख्य निर्बाचन अधिकृतको कार्यालय सोलुखुम्बुको आचार संहिता अनुगमन समितिमा उजुरी दर्ता गरिएको हो।गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलबहादुर केसीका प्रतिनिधिका रूपमा अश्विनबाबु थापा र प्रदेश निर्बाचन क्षेत्र ख का उम्मेदवार शिबकुमार बस्नेतको प्रतिनिधिका रूपमा रस्विन मगरले हस्ताक्षर गरेका छन्।
उजुरीमा अध्यक्ष र उपाध्यक्ष शेर्पाद्वयले प्रदेशतथा प्रतिनिधिसभा निर्बाचन निर्देशिका-०९७ र निर्बाचन आचारसंहिता परिच्छेद ३ को दफा ५ बमोजिम कारबाही गर्न माग गरिएको छ।हाल सर्भे गरिएको खरिखोला चौथो र पांचौ जलविद्युत आयोजनाको डिटेल सर्भे २०७३ सालमै भएको र पालिकाको असहयोगका कारण सम्पन्न हुन नसकेको उल्लेख गरिएको छ।
निर्बाचन कार्यालयका अनुसार स्थानीय तहका जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको यो तेस्रो उजुरी हो। यसअघि जिल्लाको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई र माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई विरुद्ध उजुरी दर्ता भएको थियो।

