सोलु एमालेको प्रतिबद्धता-पत्र : कृषिलाई रोजगारीमा जोड्नेदेखि साईक्लिङ ट्रेल निर्माणसम्म प्राथमिकतामा
सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्बाचनका लागि पार्टीका तर्फबाट घोषणा सार्बजनिक गरेको छ।

सदरमुकाम सल्लेरीमा आयोजित बिशेष कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राई,राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा,प्रदेशसभा सदस्य उम्मेदवारद्वय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत तथा जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले संयुक्त रुपमा सार्बजनिक गरेका हुन्।सार्बजनिक गरिएको घोषणापत्रमा कृषि, सडक यातायात,पर्यटन,उर्जा र भूमिसुधार सम्बन्धि कुरालाई प्राथमिकता दिइएको छ।कृषिलाई रोजगारीसंग जोड्नेदेखि पर्यटन प्रबर्द्धनका लागि पदमार्ग निर्माण र साइक्लिङ ट्रेलको अवधारणा समेत घोषणापत्रमा समेटिएको अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।
कृषि,शिक्षा, उद्योग तथा रोजगारी, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक विकास, युवा तथा खेलकुद, भूमिसुधार, वातावरण, , सडक यातायात, सूचनार सञ्चार, पर्यटन तथा संस्कृति, ऊर्जा, र विविध गरी १४ वटा मुख्य शिर्षकमा जोड दिइएको प्रतिबद्धता पत्रमा एमाले सोलुखुम्बुले तराई,पहाड र हिमाली क्षेत्रमा जग्गाको असमान हदबन्दी रहेकोले मूल्यांकनका आधारमा हदबन्दी कायम गर्न पहल गर्ने उल्लेख गरिएको छ।
एमाले नेतृत्वको अघिल्लो सरकारले बजेट विनियोजन गरी जिल्लाका कतिपय स्थानमा मोटरेबल पुल निर्माण सम्पन्न भएको अवगत गराउँदै दूधकोशी नदी, सोलुखोला, हुँगाखोला, इंखुखोला, लिखुलगायतका खोलाहरुमा प्राथमिकताका आधारमा मोटरेबल पुल निर्माणका लागि पहल गरिने उल्लेख छ । यस्तै मान्यताप्राप्त विश्वविद्यालयको एक बहुसंकाययुक्त आङ्गिक क्याम्पस जिल्लामा स्थापना गर्न प्रभावकारी पहल गरिने, जडिबुटी प्रशोधन, नेपाली कागज, अल्लो कपडा बनाउनेजस्ता साना उद्योगलाई प्रोत्साहित गरिने, स्वास्थ्य बीमाको व्यवस्थालाई थप प्रभावकारी बनाइने उल्लेख छ ।
यसैगरी जेष्ठ नागरिक, शारीरिक अपांगता भएका तथा लोपोन्मुख जाति र एकल महिलालाई कम्तिमा खान पुग्ने सामाजिक सुरक्षा भत्ताको व्यवस्थाका लागि पहल गर्ने, प्रत्येक वडामा कम्तीमा एक सामुदायिक पुस्तकालय स्थापना गर्ने प्रतिबद्धता पनि सो पार्टीले गरेको छ ।
प्रतिबद्धतापत्रमा जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउदै प्रांगारिक तथा अर्गानिक कृषि उपजको उत्पादन केन्द्रका रुपमा विकास गर्न अन्तर सरकार समन्यव गर्ने, स्थानीय जलस्रोतलाई प्रमुख आयस्रोतको रुपमा उपयोग गरिने,सुख्खाग्रस्त क्षेत्रमा सिंचाइको ब्यस्था र खानेपानीका लागि एक घर एक धारा निर्माण गरिने लगायतप्रतिबद्धता पत्रमा उल्लेख छ ।

