मानमर्दन गरिएको भन्दै निर्बाचनमा असहयोग गर्ने सोलुखुम्बुका शिक्षकहरुको चेतावनी
सोलुखुम्बु।जिल्लामा क्रियाशील विभिन्न शिक्षक संगठनहरुले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा खटाईएका शिक्षकलाई समान तह र श्रेणीका अन्य सेवाका कर्मचारीसरह नखटाए असहयोग गर्नुपर्ने बाध्यात्मक परिष्थिती सृजना हुने चेतावनी दिएका छन्।

मर्यादित पेशामा रहेका शिक्षकहरुलाई समान तहका कर्मचारीभन्दा कनिष्ठ हुने गरी निर्बाचनमा खटाएर मानमर्दन गर्न खोजिएको आरोप लगाउंदै नेपाल शिक्षक महासंघ लगायत विभिन्न शिक्षक संगठनले सोलुखुम्बुका मुख्य निर्बाचन अधिकृतलाई ध्यानाकर्षण पत्रसहित त्यस्तो चेतावनी दिएका हुन।ध्यानाकर्षणपत्रमा उनीहरूले अन्य सेवाका कर्मचारी सरह शिक्षकहरुलाई तह र श्रेणी अनुसारको काममा खटाउन माग समेत गरेका छन् ।
महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोला, नेपाल शिक्षक संघका कार्यबहाक अध्यक्ष मदनकुमार राई, नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बका अध्यक्ष टंक प्रसाद दाहाल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तिलक बहादुर राई र नेपाल शिक्षक महासंघ सोलुखुम्बुका सचिव कुमार राउतले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा प्रावि शिक्षक तृतीयलाई खरिदार सरह, प्रावि शिक्षक द्वितीय र निमाबि तृतीयलाई नायब सुब्बा सरह, प्रावि शिक्षक प्रथम, निमाबि शिक्षक द्वितीय र मावि शिक्षक तृतीयलाई शाखा अधिकृत सरह, निमाबि शिक्षक प्रथम र द्वितीयलाई उपसचिव र मावि शिक्षक प्रथमलाई सहसचिव सरह निर्वाचनमा परिचालन गर्न माग गरिएको छ ।

