सोलुखुम्बुका ९१ कैदीबन्दीमध्ये ४८ जनाले कारागारबाटै मतदान गर्न पाउने



सोलुखुम्बु ।मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुबाट ४८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन ।

जिल्ला कारागार सोलुखुम्बुमा रहेको ९१ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका ४८ जना कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका कम्युटर अपरेटर नेत्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको छ । ७ जना महिला र ४१ जना पुरुषले मतदान गर्ने कारागार प्रमुख प्रशान्त महतले जानकारी दिनुभयो । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन्। जिल्लामा ४८ कैदीबन्दीसहित ५ सय २५ जना अस्थायी मतदाता रहेका छन्। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । कैदीबन्दी,सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन ।

निर्वाचनको मिति नजिकिएसंगै जिल्ला निर्वाचन कार्यालयले आन्तरिक तयारीलाई पनि तिब्र बनाएको छ । मतपत्र र निर्वाचन सामग्री जिल्ला आइपुगिसकेको छ । निर्वाचनमा खटिने आवश्यक जनशक्तिलाई तालिम दिने क्रम जारी रहेको र केही दिनपछि कार्यक्षेत्रमा खटाइने कार्यालयले जनाएको छ । यसका साथै राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार कार्य जारी राखेका छन्।

प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको सोलुखुम्बुमा ८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन । प्रदेश सभाका दुई सिटका लागि पनि १२ जना उम्मेदवार प्रतिस्प्रर्धामा छ। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्