मुक्ली र जुबु जोड्ने दुधकोशी नदिमा ह्युम पाइप राखिने



सोलुखुम्बु। थुलुङ दुधकोशी-६ मुक्ली र वडा नम्बर ५ जुबु जोड्ने दुधकोशी नदिमा ह्युम पाइप राखिने भएको छ । नदिमा पानीको बहाब कम भएसंगै सिधा सवारी सन्चालको लागि ह्युम पाइप राखिने भएको हो ।

जसको लागि सोमबार इन्जिनियर सहितको टोलिले स्थलगत अध्ययन गर्ने गरि पालिका अध्यक्ष असिम राईले निर्देशन दिनुभएको प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उक्त नदिमा पक्की पुल निर्माणको लागि ठेक्का परेको भएपनि कम्पनीले ढिला सुस्ती गरिरहेको उहाँको भनाइ छ । पालिका अध्यक्ष सहितले पटक पटक निर्माण कार्यलाइ अगाडि बढाउन गरिएको आग्रहलाई समेत बेवास्ता गरिएकाले आम कोशि पारिका नागरिकलाई समस्या भएको पालिकाले जनाएको छ ।

अब तत्काल कार्य अगाडी नबढाएको खण्डमा नागरिक सहित निर्माण कम्पनीलाई कार्वाहीको लागि ध्यानाकर्षण गराउन मन्त्रालय पुग्ने सम्मको योजना रहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

यसैबीच, थुलुङ दुधकोशी गाउँपालिकाले चाँडै भु-उपयोग नीति कार्यनयनमा ल्याउने भएको छ । जसको लागि आइतबार सम्पन्न कार्यपालिका बैठकले भू-उपयोग कार्यन्वयन समिति समेत गठन गरेको हो ।

नेपाल सरकारले भु-उपयोग नीति लागू गर्ने निर्णय गरेपछि अहिले जग्गा कित्ताकाछ बन्द छ । जसको लागि गाउँपालिकामा गठित समितिले जग्गा वर्गीकरण गरि कार्यनयनमा ल्याउने छ । जसको सिफारिसको आधारमा मात्रै नापी कार्यालयले कित्ताकाट गर्ने नेपाल सरकारले नयाँ नीति अबलम्बन गरेको छ ।

गाउँपालिका अध्यक्ष असिम राइको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मंसिर १५ गते भित्र टोलविकास संस्था गठन गरि आवै योजना सन्चालन गर्ने पनि निर्णय गरिएको छ । यस्तै वडाको विभिन्न क्षेत्रमा आफु खुशी नामकरण गर्ने कार्य बढेकाले वडा सरकारको सहमतिमा सर्वस्वीकार्य नाम राख्न पाइने समेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्