म ‘पर्खाल कोतरेर’ चढ्दिन किन पटक पटक भनिरहन्छन् एमाले उम्मेदवार राई ?



काठमाडौ । नेकपा एमाले सोलुखुम्बुका संघीय सांसदका उम्मेदवार मानबीर राई टेलिभिजन कार्यक्रमहरुमा भन्ने गर्नुहुन्छ ‘म संसद भवन वा सिंहदरबार जहाँ छिर्नु परेपनि मूलगेट बाटै छिर्छु, तर बल बहादुर केसीले जस्तो पर्खाल चढ्दिन’ ।

नेपाली काँग्रेसका उम्मेदवार बल बहादुर केसीले केही दिन अघि एमालेका उम्मेदवार जितेर आएपनि सिंहदरबार समेत थाहा नभएको र पुतलीसडकमा आएर प्रहरीलाई सोध्नुपर्ने अवस्था आउने बताउनु भएको थियो । एमाले उम्मेदवार राईले त्यसको जवाफ दिनुपर्ने बाध्यात्मक अवस्था आएको भन्दै आफू सिंहदरबार तथा संसद भवन सँग परिचित रहेको र कथंकदाचित सोध्नु पर्ने अवस्था बनेछ भने पनि मूलगेटबाटै छिर्ने र केसीले जसरी कसैको पर्खाल कोतरेर नचढ्ने बताउँदै आउनु भएको छ ।

एमाले नेता राईले किन पर्खाल चढ्दिन भन्नु भएको होला ? पर्खाल काण्डबारे बुझ्न आज भन्दा २३ बर्ष अगाडि फर्केर हेर्नुपर्ने हुन्छ । जत्तिखेर अहिलेको चुनावमा भोट हाल्न तम्तयार भएर बसेका कयौं मतदाताहरु जन्मेका पनि थिएनन् ।

कुरा २०५६ सालको हो । बलबहादुर केसी त्यत्तिबेला श्रम, आवास तथा भौतिक योजना मन्त्री हुनुहुन्थ्यो । उहाँले सोही सालको असोज १२ गते बुधबार राती काठमाडौको हाँडीगाउँ स्थित इन्दिरा थापाको घरको पर्खाल चढेर भित्र प्रवेश गरी तोडफोड तथा महिला माथि दुर्व्यवहार गर्नु भएको थियो । त्यस घटना यता केसी, ‘पर्खालमन्त्री’ उपनामले समेत परिचित हुनुहुन्छ ।

सधैं जसो उक्त महिलाको घरमा पुगिरहने केसीले उक्त दिन भने सहज प्रवेश पाउनु भएनछ । त्यसबेला अहिले जस्तो टेलिफोन तथा इन्टरनेटको जमाना थिएन । त्यस दिन ती महिलाले सहजै ढोका नखोलेपछि भित्र अरु नै पुरुष भएको हुनसक्ने आँकलन गरी केसी आफै पर्खाल चढेर भित्र प्रवेश गरेका थिए । महिलासँग विवादको क्रममा केसीले टेलिभिजन राख्ने र्‍याक, दराज, सिसाको टेबल लगायत तोडफोड गरेको घटना बाहिरिएको थियो।ती महिलाको श्रीमान पाँच बर्ष अघि देखि जापानमा रहेको उल्लेख गर्दै त्यस दिन उनीसंग एक छोरा मात्र साथमा रहेको समाचार भोलिपल्टको कान्तिपुर दैनिकले प्रकाशित गरेको थियो।

मध्यरातमा दुई छोराकी आमा इन्दिरा चिच्याउन थालेपछि वरपरका छिमेकीले थाहा पाएर केसीलाई त्यहाँबाट भगाएको कान्तिपुरले प्रकाशित गरेको समाचारमा उल्लेख थियो ।

केसीको अभिमानी स्वभावकै कारण त्यत्तिबेलाको प्रसंग फेरि एक पटक सतहमा आएको हो । केसीको अहंकार, घमण्ड, अरु प्रति हेपाहा व्यवहार र दम्भकै कारण आफूले उक्त प्रसंग निकाल्नु परेको उम्मेदवार राईले बताउनुभयो । एमाले नेता जितेर आए पनि सिंहदरबार कहाँ हो भनेर प्रहरीलाई सोधेर जानुपर्ने परिस्थिति आउँछ भनेर केसीले आफूप्रति हेपाहा व्यवहार प्रस्तुत गरेको र आफूले त्यसको जवाफ मात्र दिएको उहाँले बताउनुभयो ।

आफूलाई जनताले जिताएमा कहिल्यै मतको अपमान हुने काम नगर्ने र सोलुखुम्बुको शीर उच्च बनाउन सदा तल्लीन रहने उहाँले बताउनुभयो । चुनावी कार्यक्रमहरुमा उहाँले सडक, विजुली, पर्यटन, कृषि लगायत क्षेत्रमा आफ्नो एजेण्डा प्रस्तुत गर्दै आउनुभएको छ ।

जलविद्युत तथा पर्यटनबाट प्राप्त हुने रोयल्टीबाटै जिल्लाको विकास गर्ने उहाँको योजना छ । यसका लागि इजाजत लिएर पनि काम नगर्ने जलविद्युत कम्पनीहरुलाई तत्काल काम गर्ने वातावरण सिर्जना गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्