सात महिनाभित्र खुम्बुको सुर्केसम्म मोटरबाटो पुर्‍याउने राजभण्डारीको प्रतिबद्धता



सोलुखुम्बु। सोलुखुम्बु प्रदेश निर्बाचन क्षेत्र ‘ख’ का एमाले उम्मेदवार ।बुद्धिकुमार राजभण्डारीले आफू निर्बाचित भएको ७ महिनाभित्र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सुर्केसम्म मोटरबाटो जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

निर्बाचन लक्षित कार्यक्रमका लागि माप्यदुधकोशी पुग्नुभएका नेकपा एमाले १ नं प्रदेश संसदीय दलका निबर्तमान प्रमुख सचेतक समेत रहनुभएका राजभण्डारीले पार्टीको अगुवा कार्यकर्ता भेला तथा चुनाबी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो पटक आफू प्रदेशसभा सदस्यमा निर्बाचित भएपछि गरेका कामहरूको चर्चा गर्दै सो कुरा बताउनुभएको हो।आफ्ना बिगतका कामको मूल्यांकन गरेर जनताले पुनः आफुलाई प्रदेशसभा सदस्यमा निर्बाचित गराउने बिश्वास व्यक्त गर्दै वहाँले बिकासका बांकी काम आफ्नै पालामा पुरा गर्ने बताउनुभयो।

खुम्बुको सुर्केसम्म मोटरबाटो जोडिनु जिल्लाकै आर्थिक बिकासका लागि महत्वपूर्ण उपलब्धि हुने वहाँको भनाई थियो।जिल्लाको उत्तरीभेगमा खाडान्न र तरकारीको अभाव छ,दक्षिणी भेगमा भएका उत्पादन बेच्ने ठाउँ छैन, मोटरबाटो जोडिएपछि दुबैतर्फका नागरिकलाई फाईदा हुने बताउंदै उम्मेदवार राजभण्डारीले भन्नुभयो-‘दक्षिणतिरका उत्पादनले बजार पाउंछ,उत्तरतिरका नागरिकले सस्तो मूल्यमा खरिद गर्न पाउँछन्।’ जिल्लाको आर्थिक बिकासका लागि मेरुदण्ड हुनेभएकै कारण आफ्नो पहलमा सोलुदुधकुण्डको शेर्गाबाट सिलिगुडी डांडा हुँदै माप्री खुम्बु सडकलाई कालोपत्रेका लागि प्राथमिकताका साथ अगाडी बढाएको स्पष्ट पार्नुभयो।सो सडक खण्डको २२ किलोमीटर कालोपत्रे गर्न ठेक्का लागि सकेको जानकारी पनि राजभण्डारीले गराउनुभएको थियो।

सडक सञ्जालको बिस्तारकै लागि आफ्नै पहलमा दुधकोशी नदीमा माप्य-खुम्बु मितेरी पुल र कायाघाट मोटरेबल पुल सम्पन्न गरेको बताउंदै वहाँले अब आफू निर्बाचित भएपछि माप्यदुधकोशीको वडा नं ३ र ६ को बीचमा रहेको दुधकोशीको लामबगरमा मोटरेबल पुल निर्माण गर्ने प्रतिबद्धता कार्यक्रममा व्यक्त गर्नुभएको थियो।

पालिकाको वडा नं १,२ र ३ मा रहेको खानेपानी समस्या आफ्नै पहलमा समाधान भएको र वाकुको खानेपानी समस्या समाधानका लागि बिगत दुई बर्षमा २ करोड रुपैयाँ बिनियोजन गराएको,सुबिधासम्पन्न स्वास्थ्य चौकी निर्माण गरेको स्मरण गर्दै राजभण्डारीले बांकी काम पनि आफ्नै पालामा सम्पन्न गर्ने उद्देश्यले आफू दोश्रो पटकको निर्बाचनमा पनि प्रतिस्पर्धामा उत्रिएको दावी गर्नुभयो।मंसिर ४ गतेको निर्बाचनका लागि आफुसंग प्रतिस्पर्धामा उत्रिएकाहरुले जनतासंग भोट माग्ने आधारसमेत नरहेको आरोप वहाँले लगाउनुभयो।एक्लै निर्बाचनमा प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धीहरु गठबन्धन बनाएर आएको चर्चा गर्दै वहाँले सोलुखुम्बुको बिकास र समृद्धिका लागि स्वार्थप्रेरित गठबन्धन तोड्नु आवश्यक रहेको बताउनुभयो।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राईको प्रमुख आतिथ्यमा सम्पन्न सो राईसहित नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,सचिब आशकुमार राई ‘शिशिर’ र सोलुदुधकुण्ड नगरपालिकाका पूर्ब उपप्रमुख कल्पना राई लगायतका नेताहरुले मन्तब्य व्यक्त गरेका थिए।कार्यक्रम गाउँपालिका कमिटी अध्यक्ष जुनिता रेग्मी मगरको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्