एमालेद्वारा निर्बाचन घोषणापत्र सार्बजनिक ,२० बुँदामा गर्‍यो ग्यारेन्टी



काठमाडौँ।आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पुर्‍याउने लक्ष्यसहित नेकपा (एमाले) ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युतमा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पुर्‍याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई सो दलले घोषणापत्रमा समावेश गरेको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट प्रतिघण्टा पुर्‍याउने लक्ष्य राखेको छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादनमा जोड दिने सो पार्टीको दाबी छ । स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगमा प्रोत्साहन गर्ने, सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ घोषणा पत्रमा खेतबारीमा पानी खाडीमा हैन स्वदेशमै जवानी भनेर उल्लेख गरेको छ । यस्तै घोषणा पत्रमा प्रत्येक वर्ष ५ लाख रोजगारी सृजना गर्ने र न्यूनतम ज्याला २५ हजार पुर्‍याउने ग्यारेण्टी पनि गरिएको छ ।

काम रोजगारी र सामाजिक सुरक्षाको प्रबन्धबाट सबैका लागि काम र नियमित कमाइ सुनिश्चित गरिने र रोजगारी सृजना हुने क्षेत्रमा राज्यको लगानी बढाउने घोषणापत्रमा उल्लेख छ ।

रोजगारी र उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि सीप, पुँजी र व्यावसायिक तालिम दिनेदेखि सुरुवाती व्यवसाय गर्न बिउ पुँजी उपलब्ध गराउने कुरा पनि एमालेले उल्लेख गरेको छ । हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सृजना गरिने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आयआर्जनमार्फत खाद्य सुरक्षा प्रदान गर्ने ग्यारेण्टी पनि घोषणापत्रमा गरिएको छ ।

नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि मङ्गलवार आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । २० ग्यारेण्टीसहित घोषणापत्र ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्