नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन लामिछानेलाई १२ बर्ष जेल सजायको माग गर्दै मुद्दा दर्ता
काठमाडौं।नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो अदालतमा मुद्दा दर्ता गरेको हो । विदेशबाटै फर्कंदै गर्दा २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका उनी प्रहरी हिरासतमा बसिरहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर, तिहार र छठको एक साता लामो बिदाका कारण मुद्दा दर्ता हुन सकेका थिएन । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२)को कसुरको अभियोग लगाइएको छ। जसमा १२ वर्षसम्म कैद सजाय मागदाबी समेत गरिएको छ ।
१७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन् । अब न्यायाधीश समक्ष सन्दीपको बयान लिइनेछ। त्यसपछि सरकारी वकील कार्यालय र सन्दीप दुवै पक्षको बहस सुरु हुनेछ। थुनछेक बहसपछि अदालतले थुनामा राखेर मुद्दाको पूर्पक्षमा सहभागी हुन वा धरौटीमा रिहाको आदेश गर्न सक्नेछ। साधारण तारेखमा पनि रिहा गर्न सक्नेछ।

