भ्रष्टाचारको आरोप लगाउने प्रतिस्पर्धीसंग एमाले उम्मेदवार राजभण्डारीले मागे सापटी फिर्ता



काठमाडौ । एक नम्बर प्रदेशको निर्वाचन क्षेत्र ख का एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारीले आफूमाथि भ्रष्टाचारको आरोप लगाउने गठबन्धनका उम्मेदवारसँग सापटी रकम फिर्ता गर्न आग्रह गर्नुभएको छ । एमाले सोलुखुम्बु – काठमाडौ सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा उहाँले अरुलाई भ्रष्टाचारको आरोप लगाउने आफ्ना प्रतिस्पर्धी आफै भ्रष्ट रहेको बताउनुभयो ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट सोलुखुम्बुको प्रदेश ‘ख’ को उम्मेदवार बन्नु भएका राजेन्द्र बस्नेत प्रति इंगित गर्दै उहाँले एक रेडियो अन्तर्वार्तामा प्रदेश सांसदहरुले भ्रष्टाचार गरेको भन्ने सुनेको र सांसद रहँदा आफूले एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको जो कसैले प्रमाणित गर्न सके आफ्नो श्रीसम्पक्ति सबै आफ्ना प्रतिस्पर्धीलाई सुम्पने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मैले त दाजुभाइ स्वस्थ प्रतिस्पर्धा गरौं आखिर जित्ने त मैले नै हो भनेको थिएँ । तर उहाँले मलाई एक अन्तर्वार्तामा भ्रष्टाचारको आरोप लगाउनु भएछ, म मेरा प्रतिस्पर्धीलाई सोध्न चाहन्छु म बाट लगेको २० हजार रुपैयाँ रकम कहिले फिर्ता गर्नुहुन्छ ? अब भन्नुहोस् तपाई भ्रष्ट कि म भ्रष्ट ?’

उम्मेदवार राजभण्डारीले आफ्ना प्रतिस्पर्धीले आफूसँग मात्र नभई धेरै जनासँग सापटी भन्दै रकम लिएको र फिर्ता नगरी बेइमानी गर्ने गरेको समेत बताउनुभयो । ‘म एक्लैको भए त हुन्थ्यो नि, धेरैको रकम यसरी नै सापटी भन्दै लगेर फिर्ता गर्नुहुन्न । म उहाँलाई यही मन्चबाट भन्न चाहन्छु, मैले फेरि पनि मेरो रकम पाऊँ भनेर फिर्ता माग्न नपरोस् ।’ उहाँले भन्नुभयो ।

उम्मेदवार राजभण्डारीले सोलुखुम्बुको हालसम्मको विकास अरु कुनै विकास बहादुरले गरेको नभई एमालेका स्थानीय जनप्रतिनिधी र प्रदेश सांसदहरुको सहकार्यमा भएको दाबी गर्नुभयो । २०७४ सालको चुनावमा जिल्लाका धेरै जसो गाउँपालिकामा पैदलयात्रा गरी भोट मागेको स्मरण गर्दै उहाँले अहिले त्यो अवस्था नरहेको बताउनुभयो ।

‘अहिले जिल्लाको कतिपय वडाहरु बाहेक सबै वडामा यातायात सञ्चालन भएका छन्, भोट माग्न जाँदा पनि पैदल यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, ती हाम्रै प्रयासबाट भएका हुन् ’उहाँले भन्नुभयो ।

अब ट्र्याक ओपन हुन बाँकी रहेको वडाहरुमा ट्र्याक ओपन गर्ने र ट्र्याक खोलिसकेको ठाउँमा सडकको स्तरोन्नति एवं कालोपत्रे गर्ने काम अबको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

जिल्लामा २०४८ सालदेखि एकछत्र चुनाव लड्दै आएका बलबहादुर केसीलाई हराएर एमालेका इमान्दार नेता मानबीर राई एवं प्रदेशमा पनि एमालेका उम्मेदवारहरुलाई जिताउन उहाँले आग्रह गर्नुभयो । ‘अब काठमाडौ बसेर होइन, गाउँ फर्केर भोट माग्न थाल्नुहोस्, नेकपा एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरुको बारेमा मतदातालाई सुसुचित गराउनुहोस् । जीत निश्चित छ, यसलाई सुनिश्चित गराउनुहोस्’  उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्