महोत्तरीको पररिया झडप:विवाद साम्य पार्न स्थानीय समुदाय र प्रशासनबीच ८ बुँदे सहमति



महोत्तरी । भंगहा नगरपालिका– ८ स्थित पररियामा भएको विवाद साम्य पार्न स्थानीय समुदाय र प्रशासनबीच ८ बुँदे सहमति भएको छ । बिहीबार हिंसात्मक घटना भएकोमा शुक्रबार सर्वदलीय बैठक बसी उक्त सहमति गरेको हो ।

बिहीबार पररियामा विवाद बढ्दै गएपछि झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्युको आदेश जारी गरेको थियो । सोही विवाद समाधानका लागि आज आठबुँदे सहमति भएको हो ।शुक्रबार बिहान भएको बैठकले घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने, दोषीलाई कारबाही गर्ने, घाइहरूको उपचारमा लाग्ने खर्च ब्यहोर्न नेपाल सरकारसँग माग गर्ने सहमति भएको छ ।

त्यस्तै, दुवै पक्षले धार्मिक सद्भावका लागि आह्वान गर्ने, क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि नेपाल सरकारसँग माग गर्नेलगायतको सहमति भएको हो ।त्यसैगरी, सामाजिक सद्भाव र्‍याली निकाल्ने, दलगत रूपमा शान्ति कायम गर्न अपिल गर्ने सहमति पनि भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा महोत्तरी क्षेत्र नम्बर २ का उम्मेदवार शरतसिंह भण्डारी, नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादव, लोसपाका नेता जयनुल राइनलगायतका नेताहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्