सत्ता गठबन्धनले आजबाट प्रदेशगत संयुक्त भेला सुरु गर्दै
काठमाडौं।सत्ता गठबन्धनले आजबाट प्रदेशगत संयुक्त भेला सुुरू गर्ने भएको छ। आसन्न निर्वाचनलाई लक्षित गरेर गठबन्धनका दलहरूले संयुक्त रुपमा भेला आयोजना गर्ने निर्णय गरेको थियो।

सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कार्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ।गठबन्धनले‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको जनाएको छ।
गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने जनाएको छ।कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कार्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुने छ।
सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने छ। काठमाडौंमा कार्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा बागमती प्रदेशस्तरीय संयुक्त भेला हुने गठबन्धनले जनाएको छ।

