चालु आर्थिक बर्षभित्रै खुम्बुको सुर्केसम्म सडक पुर्याउँछौ:एमाले नेता राजभण्डारी
सोलुखुम्बु । १ नम्बर प्रदेशसभा सदस्य ‘ख’ का नेकपा एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारीले चालु आर्थिक बर्षभित्रै खुम्बुको सुर्केसम्म सडक पुर्याउने बताएका छन् । यस अघि आफू प्रदेश सभा सदस्य हुँदा विनियोजन गरेको बजेट र गाउँपालिकाको बजेटले खुम्बुलाई सडक यातायातले जोड्न सफल भएको भन्दै उम्मेदवार राजभण्डारीले बाँकी काम पनि आफ्नै नेतृत्वमा गर्न चाहेको बताएका हुन् ।

चुनावी अभियानका क्रममा माप्य दुधकोशी गाउँपालिकाका विभिन्न मतदातासँगको भेटघाटका क्रममा उम्मेदवार राजभण्डारीले सम्पूर्ण नेता कार्यकर्तालाई एमालेले गरेको विकास निर्माणको कामलाई जनस्तरसम्म पुर्याउन आग्रह गरे ।
उनले खुम्बुलाई सडक यातायातले जोडेपछि उपभोग्य वस्तुहरुको मूल्यमा समेत गिरावट आएको, लागत मूल्यमा कमी आएपछि स्थानीय बासिन्दाले पहिलेको तुलनामा सस्तोमा उपभोग्य सामग्रीहरु उपभोग गर्न पाएको बताए ।
खुम्बु जोड्ने सडकको स्तरोन्नति अबको प्राथमिकता रहेको बताउँदै निवर्तमान प्रदेश सांसद समेत रहेका राजभण्डारीले दक्षिणी भेगमा उत्पादित कृषि उपजलाई उत्तरी भेगमा पुर्याएर अर्थोपार्जन गर्न सहज हुने बताए । मौसमको खराबीले लुक्लामा जहाज अवतरण हुन नसक्दा सडक यातायातबाट पनि पर्यटकहरु खुम्बु प्रवेश गर्ने ढोका खुलेको बताउदै उनले खुम्बु जोड्ने सडकले स्थानीयको जीवनस्तर बदलिने विश्वास व्यक्त गरे ।
नेकपा एमाले नेतृत्वको पालामा थालेको कामलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउँदै राजभण्डारीले सबै नेता कार्यकर्ता घरघरसम्म पुगेर मत माग्न पनि आग्रह गरे ।
नेकपा एमाले सोलुखुम्बुले संघीय उम्मेदवार मानबीर राई, प्रदेश सभा क मा उत्तम कुमार बस्नेत र ख मा बुद्धिकुमार राजभण्डारीलाई उभ्याएको छ । बस्नेत र राजभण्डारी २०७४ सालको चुनावमा पनि निर्वाचित भएका थिए । राई पहिलो पटक प्रतिनिधी सभा सदस्यमा चुनाव लड्दैछन् । उनीसँग गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बलबहादुर केसीले उम्मेदवारी दिएका छन् । केसी सातौं पटक प्रतिनिधी सभा सदस्यको चुनाव लड्दैछन् ।

