आक्रामक चुनावी अभियान सञ्चालन गर्दै सोलु एमाले (कार्यतालिका सहित)
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेसँगै नेकपा एमाले सोलुखुम्बुले आक्रामक रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय सदस्य मानवीर राई र अर्का नेताद्वय बुद्धिकुमार राज भण्डारी र उत्तम कुमार बस्नेत उम्मेदवार रहेको सोलुखुम्बुमा नेकपा एमालेले जिल्ला कमिटी अध्यक्ष डुफ कुमार बास्तोलाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो । राई संघीय संसद प्रतिनिधिसभा सदस्य र राजभण्डारी र बस्नेत प्रदेश नम्बर १ सभा सदस्यका उम्मेदवार हुन् । ०७४ सालको निर्वाचनमा समेत राजभण्डारी र बस्नेत प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निवर्तमान प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक राजभण्डारी एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेश (ख) र पूर्व राज्यमन्त्री बस्नेत प्रदेश (क)को तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् ।
पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी उम्मेदवार भए पनि उनको विगतका कारण उनी त्यति लोकप्रिय नरहेको एमाले कार्यकर्ताहरुको भनाई छ ।
प्रतिनिधिसभा र प्रदेशसभा गरी तिनवटै क्षेत्रमा एमालेका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी गराउन पार्टीले सशक्त चुनावी कार्यक्रम अगाडी बढाउन लागेको जिल्ला कमिटी अध्यक्ष समेत रहेका निर्वाचन परिचालन समितिका संयोजक बास्तोलाले जानकारी दिए । उनका अनुसार तत्कालका लागि एमालेले दुई चरणमा निर्वाचन लक्षित कार्यक्रमहरु सञ्चालन गर्नेछ । पहिलो चरणमा अगुवा कार्यकर्ता भेला, गाउँपालिका कमिटी विस्तारित बैठक, टोल भेला, घरदैलो र अन्तरक्रिया कार्यक्रमहरु उम्मेदवारहरुको उपस्थितिमा सञ्चालन हुने बास्तोलाले बताए ।
संयोजक बास्तोलाका अनुसार पहिलो चरणको कार्यक्रम अन्तर्गत असोज २७ र २८ गते महाकुलुङ, २९ गते सोताङ ३० र ३१ गते थुलुङ दुधकोशी, कार्तिक १ र २ गते नेचासल्यान, ३,४, ५ र ६ गते सोलुदुधकुण्ड नगरपालिकाका लागि समय निर्धारण गरिएको छ । नगरपालिकाको तिङ्ला र सल्लेरीमा ३ गते, केरुङ, टाप्टिङ र गोरामा ४ गते, बेनी र जुनवेशीमा ५ गते र टाक्सिन्धुमा ६ गतेका लागि कार्यक्रम तय गरिएको छ । ७ गते भने माप्यदुधकोशी गाउँपालिकाको कार्यतालिका रहेको उनले बताए ।
त्यस्तै, कार्तिक १२,१३,१४ र १५ गते काठमाडौंमा जिल्लावासीहरुसँग भेला तथा सम्पर्क मञ्चको भेला आयोजना गरेर दोश्रो चरण अन्तर्गतको कार्यक्रम शुरु हुने बताइएको छ । दोश्रो चरणमा जनसभाहरुलाई प्राथमिकतामा राखिएको छ । जसअन्तर्गत कार्तिक १७ गते विहीबार लिखुपिके, १९ गते माप्यदुधकोशी, २० गते आइतबार खरि खोला र २१ गते सोमबार लुक्लामा जनसभाको कार्यक्रम आयोजना हुने गरी समय तालिका निर्धारण गरिएको छ । २३ गते बुधबार सोलुदुधकुण्डको सिसा खोला, २५ गते शुक्रबार महाकुलुङ, २६ शनिबार सोताङ, २७ र २८ गते थुलुङ दुधकोशी र २९ र ३० गते नेचासल्यानमा चुनावी सभा आयोजना गरिने जानकारी संयोजक वास्तोलाले दिए ।

