के होला गच्छदारको उम्मेदवारी ?
काठमाडौँ।नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध एक युवाले निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेपछि उनको उम्मेदवारी के होला भन्ने कौतुहलता सुरु भएको छ।

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित गच्छदारले सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएपछि सोमबार काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी दिएका हुन्।
आयोगले हिजो आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो।त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो।
२०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर थियो।त्यस प्रकरणका एक मुख्य आरोपी गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए।
गच्छदारलाई वि.सं.२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएको आरोप छ।

