सोलुखुम्बुमा भोलि कुन दलले कति बजे गर्दैछन् उम्मेदवारी दर्ता ?



सोलुखुम्बु ।आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका लागि उम्मेदवारी दर्ताका लागि तोकिएको असोज २३ गते(भोलि) सोलुखुम्बुमा सबैभन्दा पहिले नेपाल मजदुर किसान पार्टी र अन्तिममा राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गर्न पाउनेभएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय सल्लेरीको समन्वय हलमा शनिबार सम्पन्न सर्वदलीय बैठकले उम्मेदवारी दर्ताका लागि दलहरुलाई समय निर्धारण गर्दै नेमकिपालाई बिहान ११ बजे र राप्रपालाई ५ बजेको समय दिएको हो। सर्वदलीय बैठकले निर्धारण गरेको समयसीमा अनुसार नेमकिपाले बिहान ११ बजेदेखि १२ बजेसम्म, नेकपा मालेले मध्यान्ह १२ बजेदेखि १ बजेसम्म, नेकपा एमालेले दिउँसो १ बजेदेखि २ बजेसम्म, नेकपा माओवादी केन्द्रले दिउँसो २ बजेदेखि ३ बजेसम्म र नेपाली कांग्रेसले दिउँसो ३ बजेदेखि ४ बजेसम्ममा मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ।उम्मेदवारी दर्ता गर्न जाँदा एक जना उमेद्वार बराबर २५ जना मात्र जान पाउने र उमेदवार सहित उनका प्रस्तावक र समर्थक मात्र भित्र प्रवेश गर्न पाउने निर्णय समेत गरिएको छ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगद्वारा निर्धारण गरिएको आचारसंहिताको विषयमा छलफल गरिएको थियो ।

बैठकमा निर्वाचन आचारसंहिता, स्वघोषणा लगायतका विषयमा सबै राजनैतिक दलहरुको प्रतिक्रिया लिईएको थियो ।यस्तै मनोनयन दर्ता गर्न आउँदा निर्वाचन आयोगले जारी गरेको आचार संहिताको परिधिमा रहेर स्थानीय प्रशासनसँग समन्वय गरी आलोपालो मिलाई मनोनयन दर्ता गर्ने कार्यलाई सहज र शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्ने लगायतका ४ बुँदे निर्णय गरिएको सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतिले बताए।

सर्वदलीय बैठकमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनाल, प्रहरी नायव उपरिक्षक सुनिलजंग शाह, सशस्त्र प्रहरी नायव उपरिक्षक वीरेन्द्र खनालसहित जिल्लामा क्रियाशील ७ वटा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्