सोलुखुम्बुमा एमाले कार्यकर्ताहरु उत्साही ,उम्मेदवारी दर्ताको तयारी हुंदै
सोलुखुम्बु।आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका लागि उम्मेदवार तय भएसंगै एमाले सोलुखुम्बु उम्मेदवारी दर्ताको तयारीमा जुटेको छ।

निर्बाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्बाचन प्रयोजनका निम्ति असोज २३ गतेका लागि उम्मेदवारी दर्ताको कार्यसूची भएका कारण एमालेले शुक्रबार उम्मेदवारहरु छनौट गरेको थियो ।एउटा मात्र निर्बाचन क्षेत्र रहेको सोलुखुम्बुमा संघीय संसद प्रतिनिधिसभाका लागि मानबीर राई तथा प्रदेशसभाका लागि उत्तमकुमार बस्नेत र बुद्धिकुमार राजभण्डारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।
एमालेले उम्मेदवारका रुपमा चयन गरेका तिनै जना नेता सोलुखुम्बुमा अत्यन्तै जनप्रीय मानिन्छन् ।प्रतिनिधिसभा सदस्य राई नेकपा एमाले केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा छन्।संयमतापूर्बक सूझबुझपूर्ण निर्णय गर्ने नेताका रुपमा जिल्लामा उनको परिचय छ।
बस्नेत र राजभण्डारी अघिल्लो निर्बाचनमा पनि प्रदेशसभा सदस्यमा निर्बाचित भइ सकेका नेता हुन्।अघिल्लो निर्बाचनमा सोलुखुम्बुको प्रदेश निर्बाचन क्षेत्र ‘क’ बाट निर्बाचित बस्नेत प्रदेश नं १ सरकारको राज्यमन्त्री समेत भए भने ‘ख’ बाट निर्बाचित राजभण्डारीले नेकपा एमाले प्रदेश नं १ संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी कुशलतापूर्बक निर्बाह गरेका थिए।जिम्मेवारीमा रहंदा जिल्लाको बिकासका लागि दुबै जनाले निर्बाह गरेको भुमिका प्रशंसनीय रहेको जिल्लाबासीहरुको प्रतिक्रिया छ।
पार्टीको संगठन बिस्तारमा महत्वपूर्ण भूमिका निर्बाह गरेका इमान्दार र जिल्लाको बिकासका लागि निरन्तर क्रियाशील नेताहरुलाई पार्टीले उम्मेदवार बनाएपछि एमाले कार्यकर्ताहरु उत्साहित देखिएका छन्।
आईतवार उम्मेदवारी दर्ता गर्न जानुअघि पार्टी जिल्ला कमिटीको छैटौं पूर्ण बैठक समेत बोलाईएको नेकपा एमाले जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ ले जानकारी दिए।जिल्ला कमिटीको सो बैठकमा पार्टी केन्द्रीय, प्रदेशको जिम्मेवारीमा रहेका सहित जिल्ला सल्लाहकार परिषदका अध्यक्ष,जिल्ला लेखा परिक्षण कमिटीका अध्यक्ष /उपाध्यक्ष ,पालिका कमिटीका अध्यक्ष, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी संयाेजक, सहसंयोजक र सचिव सहभागी रहने उनले बताए ।

