आजदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना
काठमाडौं। आजदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमबिदहरुले आग्रह गरेका छन् ।

भोलिदेखि दशैँको टीका र आर्शिवाद थाप्न आहोरदोहोर गर्ने क्रम बड्ने भएकाले यात्रा गर्दा वर्षादी, छाता जस्ता ओतो बोक्न उनीहरूको सुझाव छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी पर्ने । उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
बिहान हल्का मात्रै वर्षा भए पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुने र राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा कम पानी पर्ने अनुमान छ । तर भोलिदेखि यी प्रदेशमा पनि धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।
गएराति देशका केही ठाउँमा ठूलो वर्षा भएको छ । काठमाण्डौसहित वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् ।

