अनशनरत डा. केसीको उपचार शिक्षण अस्पतालमा हुंदै
काठमाडौं।चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै २० औं पटक आमरण अनसनमा बसेका प्राडा गोविन्द केसी आफ्नै खर्चमा त्रिवि शिक्षण अस्पतालमा आएका छन्। सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी बुधबार साँझ ४ः४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आएका हुन्।

अनसनका कारण स्वास्थ्य अवस्था बिग्रिएका कारण डा केसीसँग सेती अस्पतालका दुई जना चिकित्सकसहितको टोली पनि सँगै आएका छन्। डा केसीका सहयोगी डा अमृत जैशीका अनुसार केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुनसक्ने र थप गम्भीर स्थिति देखापर्ने भन्दै तत्काल थप उपचार आवश्यक देखिएको हो।
१० दिनदेखि कैलालीको धनगढीमा अनसनरत केसी बुधबार साँझ आफ्नै खर्चमा काठमाडौं आएका हुन् । मंगलबारसम्म माग पूरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं जान सहमत भएका हुन् । केसीको उपचार अहिले शिक्षण अस्पताल महाराजगञ्जमा भइ रहेको छ।
स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौं फर्केको थियो ।

