आजबाट समानुपातिक तर्फको मतपत्र छपाई सुरु गरिंदै



काठमाडौं।निर्वाचन आयोगले आजबाट समानुपातिकतर्फका मतपत्र छपाई सुरु गर्ने भएको छ।

सुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छपाई गरिने छ।चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्रका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगको तयारी छ। उता बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छापिनेछन्।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक तर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिक तर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिए ।

आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदै छन् । आयोगले भदौ २१ गतेबाट नमुना मतपत्र छाप्न सुरु गरेको हो । देशभरिका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो ।

प्रतिक्रिया दिनुहोस्