टी–२० सिरिजमा नेपालले गर्‍यो केन्यालाई ३१ रनले पराजित



काठमाडौँ। नेपालले केन्यासँगको ५ खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ। अन्तिम तथा निर्णायक मानिएको टी–२० मा नेपालले घरेलु टोलीलाई ३१ रनले पराजित गर्‍यो।

टस जितेर पहिलो ब्याटिङ गर्दै केन्यालाई नेपालले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा केन्या निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो।

नेपालको उच्च स्कोरमा ओपनिङ ब्याटरका रुपमा क्रिजमा आएका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले। उनले टी–२० अन्तर्राष्ट्रिय करिअरमा दोस्रो अर्धशतक प्रहार गर्दा नेपाल बलियो अवस्थामा पुगेको थियो।

मल्लले यसअघि टी–२० अन्तर्राष्ट्रियमा २०१९ को जुलाईमा सिंगापुरमा भएको खेलमा मलेसियाविरुद्ध टी–२० करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए। उनले मलेसियाविरुद्ध ५१ रन बनाएका थिए।

त्यस्तै, नेपालका लागि थप दोहोरो स्कोरका रुपमा ओपनर अर्जुन साउदले २९ रन बनाए। मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए।

त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाउँदा रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए। केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए।

१ सय ७६ रनको लक्ष्य लिएर मैदान उत्रिएको केन्याका लागि नेहेमिया ओडिम्बोले सर्वाधिक ३७ रन बनाउँदा कप्तान सेम नोचेले ३३ रन बनाएर अविजित रहे। त्यस्तै नेल्सन ओडिम्बोले १३ रन बनाएका थिए।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले समान दुई विकेट लिए। अब नेपालले केन्यासँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ।तस्बिरः क्यान।

प्रतिक्रिया दिनुहोस्