कांग्रेस जिल्ला कार्य समितिले भदौ २० गतेभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरि सक्नुपर्ने



काठमाडौं।नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको नाम भदौ २० गते भित्र पठाउन निर्देशन दिएको छ।

कांग्रेस महामन्त्री गगन थापाले क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिलाई पठाएको निर्देशनमा भदौ २० गतेभित्र प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको सिफारिश पठाउन भनिएको छ। कांग्रेसको साउन २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवार सिफारिश सम्बन्धी निर्णय गरेको थियो।

कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकको उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्यसमितिमा नाम पठाउने क्षेत्रीय कार्यसमितिलाई समय दिएको छ। त्यस्तै, जिल्ला कार्यसमितिले भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्नेछ। त्यसपछि प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र केन्द्रमा पठाइसक्नुपर्ने छ।

त्यस्तै, प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम भदौ १४ गतेभित्र प्रदेश क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति पठाउनुपर्नेछ। त्यसपछि क्षेत्रीय कार्यसमितिले भदौ १६ गतेभित्र जिल्ला कार्यसमितिमा र जिल्ला कार्यसमितिले भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्ने समय तोकिएको छ। त्यसपछि प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र केन्द्रमा पठाउनुपर्ने निर्देशनमा उल्लेख छ।

उम्मेदवारको सिफारिश गर्दा प्रत्यक्षतर्फत तीन जनाको र समानुपातिक तर्फ एक जना महिला अनिवार्य हुने गरी बढीमा दुई जनाको नाम पठाउन भनिएको छ। सकभर सहमतिमा र सहमति जुट्न नसकेमा निर्वाचन प्रक्रियाद्वारा उम्मेदवार छनोट गर्ने कांग्रेसले निर्देशन दिएको छ।निर्देशनमा यसअघि समानुपातिक सांसद रहेकाहरुको नाम समानुपातिकतर्फ नै नपठाउन भनिएको छ।

प्रतिक्रिया दिनुहोस्